गर्मी बढेसँगै मधेसको बजारमा अहिले खरबुजाको व्यापार बढेको छ । व्यापारीक नगरी वीरगञ्ज देखी प्रदेशको राजधानी जनकपुर सम्म अहिले मधेसको गर्मीबाट जोगीन खरबुजाको व्यापार बढेको छ ।
एक सप्ताह देखी गर्मी अचानक बढ्न थालेपछि स्वास्थ्यका लागि फाइदा हुने तथा स्वास्थ्यबाट बच्न रसिलो फलफूल खरबुजा, काँक्रो तथा भुइँकटहरको माग मधेसको बजारमा बढेको हो ।
अहिले वीरगञ्जको घण्टाघर देखी मिना बजारमा तरबुजाको बिक्री वितरण गर्नेहरू भिडभाड देखिन्छ ।
शरीरलाई शीतलता प्रदान गर्ने काँक्रो, खरबुजा तथा भुइँकटहर लगायतका फलफूल भारतीय बजारबाट आएको पाइएको छ । मधेस प्रदेशमा जताततै पाइने भए पनि अधिकांश खरबुजा बिहार र अन्य प्रान्तबाट आएको पाइएको छ । गर्मीकै अनुपातमा खरबुजा, काँक्रो र भुइँकटरको माग बढेको व्यावसायीहरू बताउँछन् ।
बाराको निजगढस्थित सहिद चोकमा ठेलामा फलफूलको व्यापार गर्नेले व्यवसायीले खरबुजा र भुइँकटहर भारतबाट आइरहेको बताए । खरबुजा भारतको बिहार र अन्य प्रान्तबाट आइरहेको व्यवसायीको भनाइ छ । यसैगरी भुइँकटहर सिलीगुडी र दार्जिलिङतिरबाट आइरहेको व्यावसायीको भनाइ छ । बजारमा छ्याप्छयाप्ती पाइने खरबुजामा करिब भारतीय उत्पादनको एकाधिकार रहेको व्यावसायीहरू बताउँछन् ।
भारतीय खरबुजाको भित्री गुदी रातो बढी हुने, रसिलो तथा स्वादिलो बढी हुनाले उपभोक्ताको रोजाइमा पनि भारतीय खरबुजा नै रहेको जनकपुरका व्यावसायीहरू बताउँछन् । नेपाली खरबुजाको भित्री गुदी रातोभन्दा केही सेतो हुने गरेको र तुलनात्मक रूपमा कम गुलियो हुनाले भारतीय खरबुजा नै ग्राहकको पहिलो रोजाइ हुने गरेको व्यावसायीहरू बताउँछन् ।
आवश्यकताभन्दा ज्यादै न्यून उत्पादन काँक्रोको भइरहेकोले काँक्रोको अधिकांश भाग भारत बिहारबाट आउने गरेको छ । गर्मीमा अत्यन्त धेरै खपत हुने कांक्रोको मूल्य पनि आपूर्तिमा निर्भर हुने गरेको पाइएको छ ।
सीमा क्षेत्रका नेपाली बजारमा खरबुजा प्रतिक्रिलो ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म पाइन्छ भने पूर्व–पश्चिम राजमार्गमा ६० रुपैयाँ प्रतिकिलो खरबुजाको मूल्य रहेको छ । काँक्रो एकदिनमै सुक्ने हुनाले बजारमा हरियो काँक्रो २० रुपैयाँ किलोदेखि ४० रुपैयाँ किलोसम्म पाउने गरिएको छ । पूर्वी नेपालबाट भित्रिइरहेको भुइँकटहर भने प्रतिगोटा २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
शरीरमा पानीको आपूर्ति पूरा गर्ने तथा विभिन्न गर्मीजन्य रोगबाट बचाउने खरबुजा, काँक्रो र भुइँकटहरको व्यापार निकै बढेको व्यावसायीहरू बताउँछन् ।
पहिले बिरलै देखिने काँचो नरिवल अहिले बजारमा छ्याप्छ्याप्ती पाउन थालिएको छ । दक्षिण भारतबाट आउने नरिवलको पानी पिउने चलन मधेस प्रदेशमा बढिरहेको छ । गर्मी लागेसँगै प्रतिगोटा डेढ सयदेखि २ सय रुपैयाँमा नरिवलको पानी पिउने क्रम पनि बढेको छ ।
यता, नेपाली किसानहरुका लागी नेपाल सरकारले विद्युतीय सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा राम्रो उत्पादन हुने जमिन पर्याप्त भए पनिे काँक्रो, खरबुजा खेतीतिर किसान आकर्षित हुन सकेका छैनन् । खरबुजा, काँक्रो, नरिवल तथा भुइँकटहरमा हरेक दिन लाखौँ रुपैयाँ बाहिरिएको व्यापारीहरुको गुनासो छ ।
गर्मीमा खरबुजा खानुका उत्कृष्ट फाइदा
- खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
- यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ ।
- खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ ।
- खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ ।
- खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ।
- तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् ।
- खरबुजामा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईंको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ ।
- एमिनो एसिडले भरपुर खरबुजाले तपाईंको मुटुको स्वास्थ्यका लागि शानदार हो ।