क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
क्यानडा पठाइदिन्छु भनेर एकजना युवतीलाई दुबईमा लगेपछि बेचेको अभियोगमा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौंको नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार पक्राउ गरेको हो ।
मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चिनजान भएका हवारीले धेरैजनालाई यसअघि क्यानाडा पठाइसकेको प्रलोभनमा पारेर ती युवतीलाई दुबईमा बेचेको खुलेको हो ।
पीडितलाई दुबई पुर्याएर बेचबिखनपछि बन्धक बनाएको अवस्थामा पीडितका आफन्तहरूको सहयोगमा नेपाल फिर्ता गराइएको थियो ।
घटनापछि फरार हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनसँगको समन्वयमा नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
हवारीले क्यानडा जान ३० लाख रूपैयाँ लाग्ने बताउनुका साथै ती युवतीलाई बिहे गर्ने प्रलोभन देखाएर नेपालमै पटक पटक यौन शोषण गरेको पनि खुलेको प्रहरीले जनाएको छ । बिहेको बहानामा यौन शोषणपछि ती युवतीलाई दुबई लगेर बेचिएको खुलेको छ ।
हवारीले युवतीबाट विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ ठगी गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
हवारीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ । यस प्रकरणमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।