तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात (हिट वेभ) बढ्ने क्रम जारी छ । मधेश प्रदेशको पर्सा बारा रौतहट लगायत राजधानी जनकपुरधाम सहित तराईको अन्य क्षेत्रमा तातो हावाले जनजीवन प्रभावित बनेको छ । अचानक केहि दिन देखी मधेसका जिल्लाहरुमा कडा घाम लाग्ना साथ तातो हावा चल्न थालेको छ ।
विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको छ ।
बिहानै तराई मधेशका ४ वटा जिल्लाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो तराईका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा माथि पुग्ने अनुमान छ ।
केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले आउँदो शुक्रवारसम्म तातो हावाको लहर बढ्ने भएको छ ।
पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने भन्दै महाशाखाले सूचना निकालेको छ ।
विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।
त्यस्तै आज देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई ठाउँमा हल्का हिमपातको अनुमान छ ।
लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ ।
सतर्क रहन चिकित्सकको सुझाव
वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन एवम् प्रवक्ता डा.उदयनारायण सिंहले धुलोसहित अत्यधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम अत्यधिक हुने बताए । उनीहरुले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिएका छन् ।
चिकित्सकहरुले गर्मी र तातो हावाका कारण मानिसमा टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या बढ्ने बताए । यस्तो मौसममा बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको अझ बढी ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । यस्तै तीव्र गतिमा तातो हावा चल्न थालेसँगै तरकारी, मकैलगायतका अन्य बालीनाली सुक्ने भन्दै किसान चिन्तित बनेका छन् ।
तातो हावाबाट बच्न सामान्यतया लत्ताकपडा, खानपान तथा हिडडुल गर्दा विशेष सावधानी अपनाउनु पर्दछ ।
मध्यान्हमा सकभर घर बाहिर नजान, जानैपरे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, खुकुलो हलुका रङको सुतिको कपडा लगाउन, फलफूलको रस तथा प्रशस्त मात्रामा पानी पिउन, जीवनजलको प्रयोग बढी गर्न, खेतबारीमा काम सकभर बिहान वा बेलुकाको समयमा गर्न, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउन, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन चिकित्सकले सुझाव दिएका छन् । यसैगरि आफ्नो छालाको रक्षा गर्नको लागि प्रत्येक दुई घण्टामा सन स्क्रिन क्रिम लगाउन र शरिर बडी तातिए चिसो पानीले पुछ्न चिकित्सकले भनेका छन् ।
तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुल्होमा खाना तथा कुँडो पकाएपछि आगो राम्रोसँग निभाउन, बालबालिकालाई आगोजन्य पदार्थ नदिन, चुरोट तथा बिँडी पिएर जथाभाबी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।