बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सर्लाही हरिवनका विद्यालय आज देखी तिन दिन बन्द भएका छन् ।
गर्मी बढेर पठनपाठन गराउन र विद्यार्थीलाई आउनजानै समस्या भएपछि सर्लाही हरिवन नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
तराईका जिल्लामा बढेको गर्मीका कारण जनजीवन अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि चर्किने घाम र तातो हावाका कारण बाहिर निस्किनै नसकिने अवस्था सिर्जना भएको हो ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै १९ गते (आज) देखि २२ गते शनिबारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सूचनामा हाल सञ्चालन भइरहेका परीक्षाहरू यथावत् रहने गरी सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिबारसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
बालबालिका र वृद्धवृद्धा गर्मीका कारण आजित बनेका छन् । दैनिक ज्याला मजदुरी गर्नेलाई झनै समस्या पर्न थालेको छ । विशेष गरी निर्माण क्षेत्रमा काम गर्नेहरू पीडित बनेका छन् । तराईमा गहुँ खेतीको काम र मकै थन्क्याउने बेला भएका कारण पनि गर्मीको विशेष प्रभाव परेको छ । गर्मीका कारण चोक, चौतारा र हाट बजारमा भिडभाड कम भएको छ ।
यता, अत्यधिक गर्मीसँगै चल्ने तातो हावाले आगलागीको समस्या समेत विकराल बनिरहेको छ । हावाकै कारण बस्तीमा आगो लागेपछि नियन्त्रणमा लिन सकस भइरहेको उद्धारमा खटिएकाहरूले बताउने गरेका छन् । जसका कारण आगलागीबाट बस्ती नै सखाप हुने खतरा हुने गरेको छ ।
जिल्लाको दक्षिण पश्चिम धनकौल गाउँपालिका–२ मा आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । स्थानीय सुरेश मण्डलको घरमा मंगलबार मध्याह्न विद्युत् सर्ट भइ सुरु भएको आगलागीले उनीसहित गणेश मण्डल, शिवचन्द्र मण्डल, शंकर मण्डल, रामप्रवेश मण्डल, रामप्रीत मण्डल र शिवजी मण्डलको घर जलेर नष्ट भएको बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए ।तीव्र गतिमा हावा चलेका बेला भएको आगलागीले फुसको छानो भएका घर एकैछिनमा जलेर खरानी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यो समयमा विद्युत समेत पटक–पटक अवरुद्ध हुँदा थप समस्या भइरहेको स्थानीयको दुखेसो छ । कतै आगलागी भएका बेला मोटरबाट पानी तानेर आगो निभाउन समेत नसकिएको उनीहरू बताउँछन् ।
पछिल्ला केही दिनयता जिल्लामा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।