वीरगञ्ज । ग्लोबल बिजनेस कलेजको आयोजनामा ‘ग्लोबल विन्टर फेस्ट’ सम्पन्न भएको छ । व्यवसाय संकायमा स्नातक अध्ययनरत विद्यार्थीहरुले ‘ग्लोबल विन्टर फेस्ट’ को आयोजना गरेका हुन् ।
कलेजका प्रबन्ध निर्देशक श्रीराम दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसियाले अनुशासन नै विद्यार्थीको सफलताको हतियार भएको बताए । अनुशासन बिना सफलता हात पार्न नसकिने बताउँदै उनले समयमै लक्ष्य निर्धारण गर्न पनि सुझाव दिएका छन् । आफ्नो रुची र क्षमताअनुसारको गन्तव्य निर्धारण गरेर सही मार्गमा निर्देशीत हुन उनले आग्रह गरे ।
ग्लोबल विन्टर फेस्टमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । सोही अवसरमा म्युजिक ब्याण्ड, फेस पेन्टिङ्, रमाईलो खेल, गिफ्ट स्टल, फुड स्टल्स् लगायतका विभिन्न स्टलहरु पनि राखिएको थियो । १३ वटा विभिन्न खाना तथा खाजाका परिकारहरुको स्टल राखिएको थियो भने ९ वटा अन्य स्टल थिए ।
कार्यक्रममा ग्लोबल बिजनेस कलेजकै स्पर्श ब्याण्ड, द जिरो फोर ब्याण्ड, उद्देश्य ब्याण्ड, अनिश एण्ड ग्रुप, यात्री ब्याण्डसागै सुमित श्रीवास्तव र साउथ जोन माविकी रागिनी केशरीले प्रस्तुती दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, बहुदरमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह लगायतको उपस्थिती रहेको थियो ।
सत्यम विपिन मिश्राले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण जीत मिश्रा, अमृत वर्णवाल, ऋभी वर्णवाल, अंकिता गुप्ता र खुशी शुक्लाले गरेका थिए । उनीहरुलाई कलेजका शिक्षक सन्दिप साहले निर्देशित गरेका थिए ।
व्यवस्थापन संकायको प्रथम वर्ष र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवसायिकता र उद्यमशीलताको बारेमा बुझाउने उद्देश्य रहेको कलेजका निर्देशक ओम श्रेष्ठले बताए ।