नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पर्साको पदाधिकारी तथा सदस्यहरू छनौटका लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । निर्वाचन प्रक्रियामा संस्थापन पक्षबाट धाँधली भएको भन्दै एक पक्षले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो।
एमाले पर्सा नेता लालबाबु शेख पक्षधरले निर्वाचन समितिबाट धाँधली भइरहेको आरोप लगाउँदै तालाबन्दी गरेपछि अहिले निर्वाचन प्रक्रिया रोकिएको छ । बिहान ११ बजेदेखि हुने भनिएको निर्वाचन अहिलेसम्म मतदान प्रक्रियामा अगाडि बढ्न सकेको छैन ।
निर्वाचनमा अवैधानिक प्रतिनिधि छनौट, एक व्यक्तिको दुई ठाउँमा उम्मेदवारी मनोनयनसहित अन्य प्रक्रियामा संस्थापन पक्षले धाँधलीपूर्ण क्रियाकलाप गरेको भन्दै शेख पक्षधर समूहले निर्वाचन समितिको गेट अगाडि विरोध गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरी बाँकी प्रक्रिया स्थगन गरिएको थियो ।
शेख पक्षधरका हनिफ मियाँले निर्वाचनमा एकलौटी हुन थालेपछि आफूहरूको समूहले त्यसको विरोध गर्दै तालाबन्दी गरेको जनाएका छन् ।
उनले भने, ‘महानगरको ३ वडाका महेश दासको नाम ६ नम्बर वडाबाट नियम विपरीत सिफारिस भएको छ, एउटै व्यक्तिको सदस्य तथा अन्य पदमा उम्मेदवारी परेको छ । तर ऊ व्यक्ति एउटामा निर्विरोध भइसकेको छ भने अर्को पदमा दाबेदारी गरिरहेको छ । यस्ता गम्भीर त्रुटिहरू भेटिएपछि आफ्नो पक्षले विरोध गरेको हो । जसअनुरूप तालाबन्दी भएको हो ।’
उनका अनुसार सदस्यमा निर्विरोध भइसकेकी गीता भण्डारीको पुनः अर्को पदमा उम्मेदवारी परेको छ । उनले भने, ‘एक ठाउँमा निर्विरोध भइसकेपछि अर्को ठाउँबाट उनको नाम हटिनुपर्ने हो । तर हटाइएको छैन, योसँगै प्रतिनिधिका लागि जुन वडामा नाम छ त्यहीबाट नाम सिफारिस भएर आउनुपर्ने नीति छ, अर्को वडाबाट प्रतिनिधि हुनका लागि केही प्रक्रियाहरू पूरा गरेर आउनुपर्छ । तर यहाँ केही प्रक्रिया पूरा नगरीकन धाँधलीपूर्ण हिसाबले ३ वडाका दासको नाम रीत नपुर्याइकन सिधै ६ नम्बरबाट आएको छ ।’
यही त्रुटिहरू सुधारको माग गर्दै आफूहरूले तालाबन्दी गरेको उनको भनाइ छ । माग सम्बोधन नभएसम्म आफूहरूले निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने उनले बताए ।
बिहीबार अध्यक्ष पदमा भने डा.विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भएका थिए भने केही सदस्यहरू पनि निर्विरोध निर्वाचित भएको नामावली प्रकाशन भएको थियो । बाँकी पदका लागि आज बिहानदेखि निर्वाचनको समय तोकिएको थियो ।
एक पक्षले विरोध गर्न थालेपछि एमाले पर्साको निर्वाचन प्रक्रिया अहिले रोकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन अधिकृत भोजराज ढकालले भने कुनै पक्षले तालाबन्दी नगरेको दाबी गरे । उनले भने,‘ निर्वाचनका लागि सबै प्रक्रिया पूरा गरेर हामी मतदान सुरु गर्नका लागि अगाडि बढ्दै थियौं, तर केही असन्तुष्ट साथीहरुले निर्वाचनमा निर्वाचन प्रक्रियामा असहमति जनाउँदै विरोध जनाउँन थाल्नु भयो । त्यसपछि हामीहरुले ताला लगाएर हिँडेका हौं ।’
उनका अनुसार तर त्यसको बाबजुद पनि अहिले अध्यक्षमण्डलहरुबीच छलफल चलिरहेको छ ।