आज परशुराम जयन्ती । भगवान परशुरामजिलाई विष्णु भगवानको छैटौं चिरञ्जीवी अवतार को रुपमा मानिन्छ ।
भगवान परशुरामजीको जन्म त्रेतायुगमा ब्रह्मश्रेष्ठ महर्षि जमदग्नी र माताश्री रेणुकाको परिवारमा वैशाख शुक्ल तृतीया (अक्ष्य तृतीया) को प्रदोष कालमा भएको थियो। पौराणिक कथा अनुसार महर्षि जमदग्निले गरेको पुत्रेशति यज्ञबाट प्रसन्न भएर भगवान परशुरामजी देवराज इन्द्रको वरदानको रुपमा प्रकट भएका थिए ।
आजकै दिन सत्यत्रेता युगको सन्धिकालमा परशुरामको जन्म भएको थियो । परशुराम कुनै समाज विशेषको आदर्श नभएर सम्पूर्ण हिन्दू समाजका आदर्श एवं चिरञ्जीवी हुन् । उनी रामका समयमा पनि थिए भने कृष्णका समयमा पनि थिए ।
भगवान् कृष्णलाई सुदर्शन चक्र उनैले दिएका थिए । भनिन्छ, परशुराम कलिको अन्त्यमा फेरि आउनेछन् । मान्यताअनुसार उनी कल्पको अन्तसम्म नै पृथ्वीमा तपस्यारत हुनेछन् । पौराणिक कथनअनुसार महेन्द्र पर्वत परशुरामको तपस्यास्थल हो र उनी अहिले त्यहीँ नै तपस्यारत छन् ।
परशुराम शिवका शिष्य हुन् । सत्य युगमा एक पटक उनी आफ्ना गुरु शिवलाई भेट्न कैलाश गएका थिए । उनलाई त्यहाँ गणेशले रोके । उनीहरूबीच युद्ध भयो । परशुरामले गणेशमाथि शिवबाट प्राप्त परशु (बन्चरो) प्रहार गरे । त्यसबाट गणेशको एउटा दार्हा काटियो र उसै समयदेखि गणेशलाई एकदन्त भन्न थालियो ।
त्रेता युगमा परशुरामले रामसीताको स्वयंवरमा आएर राम अवतार हुन् कि होइनन् भन्ने जाँच गरे । अवतार हुन् भन्ने प्रस्ट भएपछि रामको अभिनन्दन गरे ।
द्वापर युगमा परशुराम अझ प्रखर रूपले उपस्थित भएका देखिन्छन् । उनले श्रीकृष्णलाई सुदर्शन चक्र मात्र उपलब्ध गराएनन्, कौरव सभामा कृष्णको समर्थन पनि गरे । द्वापर युगका प्रमुख योद्धाहरू भीष्म, द्रोणाचार्य तथा कर्ण परशुरामकै शिष्य थिए । कर्णले असत्य बोलेर आफूसँग शिक्षा लिएका कारण रिसाएर उनले कर्णलाई युद्धका समयमा आफूले सिकाएका सारा विद्या बिर्सने श्राप दिएका थिए । परशुरामका जीवनसँग जोडिएका यस्ता अनेकौँ किस्सा छन् ।
भगवान परशुरामजी योग, वेद, नीति र युद्ध कौशलमा निपुण थिए। भगवान परशुरामजीले भारतभरि सनातन परम्पराको उत्थान र उत्थानको लागि र भ्रष्ट र निरंकुश शासन प्रणालीमा परिवर्तनको लागि लडे।