आज अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ । शुक्रबार विशेष माता लक्ष्मीको बार पनि भनिन्छ, त्यसमाथी अक्षय तृतिया आज कै दिन परेकाले यस दिन माता लक्ष्मीलाई प्रशन्न गर्ने विशेष संयोग बनेको छ ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ ।
यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदैछ । शास्त्रीय विधान अनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।
दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।
पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ । यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् बताउछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । आजका दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ ।
आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।