औद्योगीक शहर वीरगञ्जमा अन्तर्राष्ट्रिय फुड चेन ब्रान्डहरू केएफसी, पिज्जा हट र क्रिम बेल आइसक्रिम सञ्चालनमा आएको छ ।
आदर्शनगरस्थित स्काइलाइन मलमा पूर्व मन्त्री एवम् सङ्घीय सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुक्रवार संयुक्त रूपमा विधिवत् उद्घाटन गरेपछि सो ब्रान्डहरू सञ्चालनमा आएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् सङ्घीय सांसद यादवले आर्थिक नगरी वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको फुड चेनहरूको खुल्नु आफैमा ठूलो कुरा भएको बताए । महानगरको हैसियत पाएको लामो समय भए पनि अहिले भर्खर आएर नगरवासीले विश्व स्तरीय सेवाहरू पाउन थालेको जिकिर गर्दै उनले भने, ‘महानगर त घोषणा भयो तर यहाँ पूर्वाधारहरू थिएनन् । अहिले बल्ल आएर स्काइलाइन मल जस्ता पूर्वाधारहरू विकास हुँदै गएपछि यहाँका स्थानीयहरूले आफू महानगरवासी भएको अनुभूति गरिरहेका छन् ।’
त्यस्तै,वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले वैभव वीरगञ्जको आफ्नो अभियानलाई सफल पार्न स्काइलाइन मलले ठूलो भूमिका खेलेको बताए । वीरगञ्जवासीलाई पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय र विश्वसनीय सेवाहरू उपलब्ध गराएर मलका सञ्चालकहरूले नगरको विकासमा पनि सहयोग गरिरहेको उनले जिकिर गरे । मलले यहाँका जनतालाई एकै ठाउँमा किनमेल, खानपानदेखि मनोरञ्जनसमेतको व्यवस्था मिलाइदिएकोमा उनले आभार पनि प्रकट गरे ।
वीरगञ्ज वडा नं. १० का वडाध्यक्ष सुशील कुमार कानुले आफ्नो वडा क्षेत्रमा केएफसी, पिज्जा हट र क्रिम बेल जस्ता विश्व प्रख्यात ब्रान्डहरू संचालनमा आउनु खुशीको कुरा भएको बताए । उनले यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको ब्रान्डहरु बिस्तारै सञ्चालनमा आउदै जानु भनेको सम्पुर्ण वीरगञ्जवासीको लागी गौरवको कुरा भएको बताए ।
साथै वडाध्यक्ष कानुले स्काइलाइन मलका सञ्चालकले केहि महिना अगाडी नेपाल कै सबैभन्दा ठूलो सिनेमा हल ब्रान्ड क्यूएफएक्सको सुरुवात गरिसकेकाले यसप्रति आभार प्रकट गरे ।
मलकी सञ्चालक आशिमा अग्रवालले आगामी दिनहरूमा मलले थप स्टोरहरू सञ्चालन गर्ने तयारी समेत गरेको बताइन । उद्घाटनको अवसरमा केएफसी, पिज्जा हट र क्रिम बेलले विशेष छुटको समेत व्यवस्था गरेको अग्रवालले जानकारी गराइन ।
उद्धघाट्न कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत शैलेन्द्र कुमार, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उद्योगपति राजेश अग्रवाल, रमेश अग्रवाल, युवा उद्यमी आकृति अग्रवाल, प्रतीक अग्रवाल, हास्य कलाकार सन्दीप क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, अन्नपुर्णा मानन्धर लगायतका अतिथिहरूको सहभागीता रहेको थियो ।