मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्।
दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । त्यस लगत्तै भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन मन्त्रालयका राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका हुन्।

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद शाहले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।
माओवादी मधेश प्रदेश संदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै बिना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले राजीनामा दिएकाहुन ।

एमाले र माओवादी केन्द्रको आइतबार बसेको संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६८ अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्।
प्रमुख दलले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकार अल्पमतमा परेको छ।