दुधमा क्याल्सियम, भिटामिन बी १२, के, ए, पोटाशियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् ।
केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा फाइदा दुईगुणा बढेर जान्छ ।
विशेषज्ञअनुसार यसलाई पिउने सही समयका बारेमा जानौं ।
दुध कुन समयमा पिउने भन्ने तपाईंको शरीरको प्रकृतिमा पनि निर्भर हुन्छ । आयूर्वेद अनुसार पढ्ने बच्चाले गाईको दुध पिउनुपर्दछ भने निद्राको कमी र कब्जियतको समस्याले ग्रस्त व्यक्तिले भैंसीको दुध पिउनु फाइदाजनक हुन्छ ।
रातको समयमा दुध पिउँदा यसले एउटा आहारको रुपमा काम गर्दछ । त्यस्तै रातको समयमा दुध पिउनु आँखाका लागि पनि फाइदाजनक हुन्छ । यसले आँखाको स्वास्थ्य राम्रो बनाउँछ ।
दुध पिउँदा हड्डी र मांसपेशी बलियो हुन्छन् । यस्तोमा नियमित रुपमा दुध पिउनु स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक हुन्छ ।
कतिपय मानिस एकदमै धेरै मसालेदार खाना मन पराउँछन् । जसले गर्दा कब्जियतको समस्या हुन थाल्छ । त्यस्ता व्यक्तिले रातको समयमा दुध पिउनु पर्दछ ।
धेरैलाई अहिले अनिद्राको समस्या पनि हुन्छ । यस्ता व्यक्तिले पनि रातमा सुत्नुअघि भैंसीको दुध पिउन सकिन्छ । यसले अनिद्राको समस्यामा सुधार ल्याउँछ ।
यदि तपाईंलाई कफ तथा पित्त दोषको समस्या छ भने दिउँसोको समयमा दुध पिउनु फाइदाजनक हुन्छ । यसले यी समस्याबाट राहत दिलाउँछ ।