इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले प्लेअफको सम्भावनालाई कायमै राखेको छ।
आइतबार राति एम चिन्नास्वामी क्रिकेट रंगशालामा सुरुमा ब्याटिङ गरेको आरसिबीले ९ विकेटको क्षतिमा दिएको १८८ रनको चुनौती पछ्याएको दिल्ली १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमा समेटिएको हो।
महत्त्वपूर्ण खेलमा दिल्लीमाथि ४७ रनको जित निकालेसँगै आरसिबीले प्लेअफ सम्भावना कायमै राखेको हो। यो जितसँगै आरसिबीले १३ खेल खेल्दै १२ अंक जोडेको छ।
समान खेल र अंक भए पनि रनरेटको आधारमा दिल्ली छैठौं स्थानमा पुग्दा आरसिबी पाँचौं स्थानमा उक्लिएको हो। प्लेअफका लागि अब एक खेल खेल्न बाँकी आरसिबीले चेन्नईलाई पराजित गरेर मात्र पुग्दैन। आरसिबीले दिल्ली, लखनउ र हैदरावादको खेलको नतिजामासमेत कुर्नुपर्ने हुन्छ।
आइतबार राति टस हारेर सुरुमा ब्याटिङ गरेको आरसिबीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। उसका लागि रजत पटिदरले सर्वाधिक ५२ रन बनाए। विल ज्याक्स ४१, क्यामरुन ग्रिन ३२ रनमा आउट हुँदा विराट कोहलीले २७ रन जोडे।
दिल्लीका खलिल अहमेद र राशिक सलमले दुई विकेट लिँदा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एकएक विकेट हात पारे।
१८८ रनको लक्ष्य पछ्याएको दिल्लीका कप्तान अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए। साइ होप २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ रन जोड्दा राशिक सलामले १० रन बनाए।
दिल्लीलाई सस्तैमा समेट्न आरसिबीका यस दयालले तीन विकेट हात पारे। उनले मात्र २० रन खर्चिएर तीन ओभरमा तीन विकेट हात पारेका हुन्। उसका लागि लोकी फर्गुसनले दुई विकेट लिए भने स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एकएक विकेट लिए।