पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा बन्ने आधुनिक नयाँ पुलको शिलान्यास भएको छ ।
चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शिलान्यास गरेका हुन ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए ।
सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको भन्दै उनले देशव्यापीरूपमा सडक सञ्जालको विस्तार भएसँगै आउने दिनमा गुणस्तरता एवम् दिगोपनलाई विशेष प्राथमिकता दिने बताए।
सडक विभागको पुल महाशाखाका डिभिजनल इन्जिनियर एवम् पुलको योजना प्रमुख कृष्ण अधिकारीकाअनुसार पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक 'केबल स्टेट ब्रिज' बनाउने तयारी छ ।
पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने पुलको मुनिबाट ठूला डुङ्गा आवतजावत गर्न मिल्ने गरी बनाइने उनले बताए।
पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ ।
बीचमा साढे सात मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनले जानकारी दिए । अघिल्लो वर्ष तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको छ ।
पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिए। उनका अनुसार डिजाइनको काम करिब सकिएको छ ।
अहिले भएको नारायणीको पुल २०३८ सालमा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल बनाउन लागिएको हो ।