मधेस प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको छ । यहाँका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेको एक तथ्यांकले देखाउँछ । मधेस प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार रहेको छ ।
नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसंख्यामध्ये २०८० चैत मसान्तसम्म ९ दशमलव चार प्रतिशत अर्थात् ५ लाख ७३ हजार चार सय ३३ जनाले मात्रै बीमा गराएका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको देखिन्छ ।
बीमाबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति, बीमकको शाखा–उपशाखामा न्यून जनशक्ति र बीमासम्बन्धी गलत बुझाइले बीमालाई प्राथमिकता नदिँदा आकर्षण बढ्न सकेको छैन । प्राधिकरणले बीमा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यालयका अनुसार मधेस प्रदेशमा २०८० चैत मसान्तसम्म जीवन बीमातर्फ दुई सय २५ शाखा कार्यालय रहेका छन् ।
त्यस्तै निर्जीवन बीमातर्फ एक सय २८ र माइक्रो जीवन बीमातर्फ सात र माइक्रो निर्जीवन बीमातर्फ चार गरी कुल तीन सय ६४ वटा बीमा कार्यालयका शाखा छन् । गत आवमा जीवन र निर्जीवन र अन्यतर्फ गरेर तीन सय ४० वटा शाखा कार्यालय रहेका थिए । बीमा कार्यालयहरुमा कुल एक हजार एक सय ६५ जनाले रोजगारी पाएका छन् ।
प्राधिकरणका अनुसार गत आवसम्म मधेस प्रदेशमा सक्रिय बीमालेख संख्या पाँच लाख ७४ हजार चार सय १२ रहेको थियो । मधेस प्रदेशमा चालु आवको चैत मसान्तसम्ममा कुल बीमा शुल्क संकलन रु ९ अर्ब ८४ करोड रहेको छ । ‘म्याचुरिटी’ दाबी बीमालेख संख्या ९ हजार चार सय ७७ छ । मधेस प्रदेशमा ‘सरेन्डर’ बीमालेख संख्या ९ हजार चार सय ६५ छ ।
कार्यालयका अनुसार चालु आवमा दाबी भुक्तानी बीमालेख संख्या १५ हजार चार सय ५० रहेको छ । मधेस प्रदेशमा निर्जीवन सक्रिय बीमालेख संख्या दुई लाख ३८ हजार तीन सय ४१ छ । त्यस्तै निर्जीवन बीमातर्फ कुल बीमा शुल्क संकलन रु एक अर्ब ९९ करोड रहेको छ । मधेस प्रदेशमा कुल ‘ग्रेस क्लेम’ बीमालेख संख्या ६ हजार तीन सय ९४ रहेको छ ।
कुल दाबी भुक्तानी बीमालेख संख्या पाँच हजार १८ रहेको छ । मधेस प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन । विसं २०८० को चैत मसान्तसम्म मुलुकभरिका ४३ दशमलव तीन प्रतिशत जनसंख्या मात्रै बीमाको पहुँचमा छन् । अझै ५६ दशमलव सात प्रतिशत नागरिक जीवन बीमाको पहुँचभन्दा बाहिर छन् । विसं २०७५ सम्म मुलुकभरि १७ प्रतिशत जनता बीमाको पहुँचमा थिए ।