वीरगञ्ज । सुरक्षित आप्रावासन सामी परियोजना अन्र्तगत वैदेशिक रोजगार विषयक एक दिने अन्तक्रिया तथा अभिमुखिकरण वीरगञ्जमा सम्पन्न भएको छ । दिव्य विकास श्रोत केन्द्रको सहजीकरण र वीरगञ्ज महानगरपालिकाको सहयोगमा सामी परियोजना हाल चार वटा स्थानीय तहमा सञ्चालित छ ।
यस परियोजनाबाट वैदेशिक रोजगारीमा जान चाहने र फर्केका तथा ठगीमा परेका जस्ता व्यक्तिहरुलाई राहत पुगेको सामी कार्यक्रमका जिल्ला संयोजक रामाशंकर प्रसाद कुश्वाहाले बताए ।
वैदेशिक रोजगारीको क्षेत्रमा पिडित तथा वैदेशिक यात्रालाई कसरी सहज बनाउने भन्ने उद्देश्यले सामी कार्यक्रमले सहयोग र सहकार्य गर्दै आएको छ । हाल सामी कार्यक्रम अन्तर्गत दुई जना कर्मचारीहरुले प्रत्येक युवालाई वैदेशिक रोजगारीको विषयमा सुचना दिने तथा सिप सिकाउने र तीन जनाले घर घरमा पुगेर सुचना र सचेतनाका कार्य गर्दै आएको कुश्वाहाले बताए ।
दिव्य विकास श्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला तथा पत्रकारहरुले वैदेशिक रोजगारमा जाने र फर्केकाहरुको विभिन्न बेथितीबारे समाचार मार्फत अझ बढी उजागार हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी आर्थिक विकास महाशाखाकी प्रतिज्ञा बैद्यले सामी परियोजनालाई अझ अगाडी बढाउनुपर्ने अवस्थामा सरकारले नै बजेटमा कटौती गरेको कारण बजेट अभावमा सोचे जस्तो कार्य गर्न नसकेको गुनासो गरीन् ।
तर सामी कार्यक्रमले वैदेशिक रोजगारीका विषयमा उल्लेखनिय कार्य अभियानकै रुपमा गर्दै आएको तर अझ पनि वैदेशिक रोजगारीका विभिन्न समस्या र बेथिती कायम रहेकोले समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई सशक्त कलम चालाउन आग्रह समेत गरीन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वैदेशिक रोजगारी देशका युवाहरुका लागि हाल बाध्यता र अवसर दुईटै अवस्था सिर्जना गरेकोले यसका विभिन्न समस्याहरु सम्बन्धित क्षेत्रमै पुगेर बुझेर समाचार सम्प्रेषणका लागि आग्रह गरे ।
कार्यक्रममा दिव्य विकास श्रोत केन्द्रका अध्यक्ष रामाकान्त पटेलले सामी परियोजनाको हाल अन्तिम फेजमा हालसम्म भएका उपलब्धी र वैदेशिक रोजगारीका विभिन्न समस्या र सचेतनाबारे सरोकारवालासँगको निरन्तर छलफल, सहजिकरण र पहलमा संचारक्षेत्र र पत्रकारको तर्फबाट सहयोगको अपेक्षाका लागि आग्रह समेत गरे ।
उनले पहिला वैदेशिक रोजगारीमा जान चाहने र जाने मानिसहरु अधिकाशं ठगीने गरेकोमा हाल सामी कार्यक्रम मार्फत सचेतना र सिप अगाडी बढाउँदा त्यस्ता ठगीमा पर्नेहरु सचेत हुनुका साथै ठगिको उजुरीको संख्यामा समेत वृद्धि भएको बताए ।
तर सामी कार्यक्रम संचालनका निम्ति हाल छुट्याईने बजेट अपुग हुने गरेको कारण सोचे जस्तो उपलब्धि अझ पनि हासिल गर्न नसकिएको गुनासो जिल्ला संयोजक कुश्वाहाको छ । उनले हालसम्म पर्साका ४ पालिकामा संचालित यस परियोजना मार्फत ५९ वटा उजुरी परेकोमा त्यसमध्ये ५७ वटा ठगीको मुद्धा परेका थिए । जसमध्ये १७ वटा समाधान गरीएको पनि उनले बताए ।
कुश्वाहाले हाल पनि वैदेशिक रोजगारीमा जान चाहने र जानेका लागि बजेट अभावमा वीरगञ्जमा सिप केन्द्रको स्थापना हुन नसकेको तथा वैदेशिक रोजगारीमा व्यवस्थापनका लागि संविधानमा भएका व्यवस्थालाई समेत सरकारले लागु गर्न सकेको छैन ।
आ.व.२०६३/६४ देखी २०७९/८० सम्म नेपालबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६४ लाख ५२ हजार २ सय ३४ पुगेको छ भने दैनिक सरदर २ हजार १ सय १३ जना वैदेशिक रोजगारमा जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये ३० प्रतीशत मात्र श्रमीकहरुले सिप सिकेर तालिम लिएर वैदेशिक रोजगारीमा जाने गरेकोले वैदेशिक रोजगारीको क्षेत्रमा पिडित श्रमीकहरु तथा तिनका घरपरिवारको सदस्यहरुलाई न्याय दिलाउन र क्षतिपुर्ती दिलाउनका लागि पत्रकारीता मार्फत बहस र पैरवी गर्न आवश्यक रहेको भन्दै सरकोकारवालाहरुले आग्रह गरेका थिए ।
हाल देशभरीबाट ६४ लाख ५२ हजार २ सय ३४ श्रमीकहरु श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा छन् भने मधेश प्रदेशका मात्र १ लाख ८१ हजार ६ सय १३ श्रमीकहरु वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीबाट देशमा हाल ५६ प्रतीशत परिवारले विप्रेषण प्राप्त गरीरहेका छन् ।
तर वैदेशिक रोजगारीमा गएका वा जान चाहने मानिसहरुका विभिन्न बाध्यता, समस्या भने अझ कायमै रहेकोले ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने पाटोमा गम्भिर भएर सरोकारवालाले काम गर्नुपर्नेमा कार्यक्रममा सहभागिले जोड दिएका थिए ।