वीरगञ्ज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले वीरगञ्जको अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए । बदलिएको वीरगञ्ज र राजनीतिसँगै प्रेम, द्वन्द्व लगायतका सबै रसलाई चलचित्रमा समावेश गरिएको कुर्मीको भनाई छ । यसअघि भारतमा बनेका चलचित्र नेपालमा चल्ने गरेकोमा ‘मेयर सिंह’ चलचित्र भारतमा पनि प्रदर्शन गरिने कुर्मीले जानकारी दिए । मेयर सिंह चलचित्र भारतीय फिल्मको तुलनामा कम नरहेको दाबी पनि उनले गरे ।
यहाँकै स्थानीय कलाकारले स्थानीय भाषा तथा संस्कृतिको संरक्षणका लागि बनाएको चलचित्रको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सह्राना गरे । चलचित्रले वीरगञ्जको बास्तविकतालाई उतार्दै यहाँको विकासका बाधक तथा चुनौती एवम् समस्याहरुलाई केलाउन सघाउ पुग्ने अध्यक्ष तिवारीको विश्वास छ । कला, साहित्य, संगीत एवम् चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेष्ण गर्न पनि अध्यक्ष तिवारीले पत्रकारहरुलाई अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनकै क्रममा चलचित्र ‘मेयर सिंह’ को ट्रेलर पनि प्रदर्शन गरिएको थियो । ट्रेलरमा वीरगञ्ज महानगरपालिकाका गतिविधिलाई समावेश गरिएको देख्न सकिन्छ । वीरगञ्जमा सरसफाईमा आएको कायापलटको चर्चा पनि ट्रेलरमा देखाइएको छ ।
सुनिल तिवारीले लेखेको ‘मेयर सिंह’ को पटकथालाई सुबास देवकोटाले निर्देशन गरेका छन् । चलचित्रमा जितु जितेन्द्र, प्रिति पाशवान, अजय पटेल, शिव प्रसाद कुर्मी, श्रेया दुलाल मुखलाल प्रसाद, रवी कुमार साह, प्रितम कलवार लगायतले अभिनय गरेका छन् ।
वीरगञ्जसहित बारा, पर्सा एवम् मकवानपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । पटकथा लेखक सुनिल तिवारीले नै सहायक निर्देशन गरेको चलचित्रलाई मेहफुज अन्सारीले छायाङ्कन गरेका हुन् । अजमत अली अन्सारी र सन्तोष पुरीको शब्द, संगीत एवम् गायन रहेको छ ।
शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रको भिएफएक्स दिनेश ढकालले गरेका छन् । यही साताभित्र चलचित्रको ट्रेलर ‘ईगो रेकर्डस भोजपुरी’ युट्युब च्यानलमार्फत सार्बजनिक गर्ने तयारी रहेको चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिए । उनकाअनुसार हलबाट अनुमति पाउने बित्तिकै एक महिना भित्रैमा चलचित्रको प्रदर्शन मिती पनि सार्बजनिक गरिनेछ ।