टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक वार्म अप खेलमा क्यानडासँग पराजित भएको छ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।
जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । अनिल साहले २४ रनको योगदान दिए । आसिफ शेखले २२ रन जोडे । कुशल भुर्तेलले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
क्यानडाका लागि डिलन हेलिगरले ४ विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।
यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।
क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । रवीन्द्रपाल सिंहले मात्र १७ बलमा ४१ रन बनाए ।
ओपनर नवनित धालिवालले ३२ रन बनाए । डिलन हेलिगर र परगत सिंहले १३–१३ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले २ विकेट लिए । त्यस्तै, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले १–१ विकेट हात पारे ।
यसअघिका अनौपचारिक अभ्यास खेलमा भने नेपाल विजयी भएको थियो ।
नेपालले दोस्रो वार्म अप खेल अब अमेरिकासँग मे ३० मा खेल्नेछ ।
जुन १ बाट शुरू हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।