वेस्ट इन्डिज र अमेरिकामा आइतबार बिहानबाट सुरु नवौं संस्करणको टी-२० विश्वकपमा सोमबार बिहान तेस्रो खेल हुदैछ ।
नवौं संस्करणको विश्वकपको तेस्रो खेलमा समूह बी मा रहेका नामिबिया र ओमानबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार सोमबार बिहान सवा छ मा वेस्ट इन्डिजको बारबाडोसमा हुदैछ ।
नामिबियाको टी-२० विश्वकपमा यो लगातार तेस्रो सहभागीता हो । २०२१ मा पहिलो पटकको सहभागीतामा सुपर १२ मा स्थान बनाउँन सफल नामिबियाले गत संस्करणको आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै ठूलो सफलता हात पारेको थियो । नामिबिया अफ्रिका महादेश छनोटबाट शीर्ष दुईमा रहेर विश्वकपमा छनोट भएको हो ।
यता, दोस्रो पटक विश्वकप खेल्दै गरेको ओमान एसिया क्षेत्र छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । ओमानले छनोटको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।
ओमान र नामिबियाबीच टी-२० आईको पछिल्लो पाँच खेलमा नामिबिया तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।
नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह बी मा नामिबिया र ओमानका अलावा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।
समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।
विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।