आरके श्रीवास्तव\ मधेसको अधिकांश जिल्लाका धान किसान सीमावर्ती भारतीय बजार गएर धानको बिउ ल्याउँछन् । बजारमा भारतीय धानको बिउ भरमार रहेको छ ।
बिउवीजनको पसल सञ्चालन गर्नेहरूले पसल बाहिर नेपाली धानको बिउ देखाएर राख्ने गरेको भए पनि भारतीय धानकै बिउको ब्यापार बढी गर्ने गरेका छन् । किसानहरूले पनि नेपाली धानको बिउमाथि खासै विश्वास गर्दैनन् । खोजी खोजी भारतीय धानको बिउ किन्छन् ।
भारतीय बजार रक्सौल, घोडासहन, चैनपुर, बैरगनियादेखि सीमा जोडिएका सबै बजारमा नेपाली किसानको भिडभाड हुन्छ । धानको बिउ धेरै मात्रामा ल्याउँदा भन्सारमा प्रहरीले रोक्ने भएकोले १–१ बोरा वा आधा–आधा बोरा गरी भित्र्याएर किसानले आफ्नो आवश्यकता पूरा गरिरहेका छन् । पर्सा, बारा, रौतहट, सर्लाही तथा महोत्तरी जिल्लाका दक्षिणबाट आधाभन्दा बढी भूभागका किसानहरूले भारतीय धानको बिउमाथि नै विश्वास गरेको पाइएको छ ।
छिटो फल्ने धान होस्, कि ढिलो फल्ने, दुवै किसिमको भारतीय बिउ नै विश्वसनीय रहेको किसानहरू बताउँछन् । ठूला उद्योगहरूले उत्पादन गर्ने गरेको र विगतमा पनि नेपाली धानको भन्दा भारतीय धानको बिउले उत्पादन राम्रो दिएको अनुभव सुनाउँदै भारतीय बजारबाटै सस्तोमा धानको बिउ किनिरहेको किसान बताउँछन् ।एउटै गुणस्तरको उही धानको प्रकारको बिउ नेपालमा भन्दा भारतमा सस्तो पर्छ । नेपालमा महँगो पर्ने र कुनै पनि पसलेले धानको बिउको भारतीय धानको बिउको जस्तो ग्यारेन्टी नलिने भएकाले पनि किसानहरूले भारतीय धानको बिउ प्रयोग गरेका हुन् ।
विगतदेखि नै भारतीय धानको बिउ प्रयोग गर्ने चलन छ । भारतीय धानको बिउ हेर्दै सफा हुने र उम्रने क्षमता पनि बढी हुने भएकोले किसानले मन पराएको दाबी छ । नेपाली धानको बिउ बजारमा ढिलो आउने तथा उम्रने र बोट बलियो हुने तथा उब्जनी राम्रो हुने ग्यारेन्टी नलिने गरेको कारण पनि किसानले भारतीय धानको बिउप्रति निर्भर भएको रौतहटको बौद्धिमाईका किसान सन्तोष जयसवालले बताए ।
किसानहरूको रोजाइमा भारतीय धानको बिउ रहेको कारण मागको आधारमा उपलब्ध गराउनु परिरहेको पसलेहरूको भनाइ छ । हरेक पसलेले नेपाली धानको बिउ पनि बेच्नलाई राखेको भए पनि कतिपयले लगानी खेर जाने चिन्ता गरिरहेका छन् । भारतीय धानको बिउ किन्दा नेपाली किसानले करोडौँ रुपैयाँ भारतमा पठाएका छन् ।
धानको बिउ किनिरहेका किसानले बजारमा डिएपीको अभाव भएको बताइरहेका छन् । नेपाली बिउ किनेर पनि भारतीय डिएपी मल महँगोमा किन्नुपर्ने बाध्यता किसानहरूको अगाडि रहेको छ । नेपालमा धानको बिउ छर्ने बेलामा रासायनिक मलको अभाव भएकोले भारतीय बजारसम्म पुगेर बिउ पनि किन्ने र रासायनिक मल पनि किनेर ल्याउने प्रवृत्ति बढेको छ ।