बुधबार बिहान नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ।अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको छ ।
वर्षाका कारण टस हुन नसकेपछि खेल केही ढिलामात्र सुरु हुने भएको छ ।
समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्। अहिले वर्षा रोकिएको छ । मैदान सफा भएपछि टस हुने आईसीसीले जनाएको छ ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।
श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको छ।
श्रीलंका तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स छन्।
तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंका अंकबिहीन छन्।
नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिका र समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।