वीरगञ्जको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ कार्वाइड हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुद्वाराअनुगमन गर्ने क्रममा भेटिएको छ ।
वीरगञ्ज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको संयोजक तथा उप प्रमुख इम्तियाज आलमको निर्देशनमा शुक्रबार फलफूलको थोक पसलमा अनुगमन गरिएको थियो ।
वीरगञ्ज वडा न ८ गहवा रेल्वेरोड स्थित शंकरमोच फुट ट्रेडर्समा अनुगमन गर्ने क्रममा आँपमा बिषादि प्रयोग भएकोले आईन्दा त्यस्तो बिषादियुक्त आँप तथा फलफुल बिक्रि बितरण नगर्न र गरेको पाइए कानुनी कार्वाही गरिने निर्देशन दिईएको थियो ।
साथै मुल्यसूचि अपडेट नरहेकोले सबैले देख्ने गरि मुल्यसुचि राख्न पनि बजार अनुगमनको टोलीले निर्देशन दिएको छ ।
यसैगरी, वीरगञ्ज रेल्वेरोड स्थित चादनी फुट ट्रेडर्समा पनि अनुगमन टोलिले अनुगमन गर्नेक्रममा बिरगंज महानगर पालिकाको व्यवसाय प्रमाणपत्र नलिएकोले ३ दिन भित्र व्यवसाय प्रमाणपत्र लिन र कार्वाईट बिषादि प्रयोग गरेको आँप तथा फलफुल बिक्रि बितरण गरेकोले अब उपरान्त बिक्रि बितरण गरेको पाईएमा नियमानुसार कार्वाही गरिने समेत खाद्य अनुसन्धान अधिकृत विपिन कुमार लाल दास बताए।
अनुगमनमा वीरगञ्ज महानगरपालिकाका उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित कुमार भुजेल, गुणस्तर तथा नाप तौल कार्यालयका शुसान्त चौधरी , आनन्द गुप्ता , सन्दिप कुमार चौधरी , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका मधुरेश प्रसाद साह, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास , घरेलुु तथा साना उद्योग वीरगञ्जका सन्जय महतो , प्रहरी सहायक निरीक्षक वृजकिशोर यादव , सशस्त्र प्रहरी हवल्दार शशी देवकोटा, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरीहरुको समेत सहभागिता रहेको थियो ।
विषादी हालेर पकाइएको आँप खाँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकले बताएका छन् । बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाएको आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने डा. अशोक दासले बताए ।
“कार्वाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, वान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ,” डा दासले भने, “औषधि हालेर जवरजस्ती पकाइएको आँपले गर्मीमा थप समस्या पार्छ ।” चिकित्सकले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रूपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराएका छन् ।