नेपाललाई २१ रनले हराउँदै बंगलादेश आईसिसी टी २० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । वेष्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले चार बलअघि अलआउट हुँदै एक सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रत्युत्तरमा नेपाल १९।२ ओभरमा अल आउट हुँदा मात्र ८५ रन बनायो । नेपालले चौथो खेलमा पनि १७ ओभरपछि राम्रो प्रदर्शन गर्न सकेन । पछिल्लो तीन विकेट गुमाउँदा एक रन पनि जोड्न सकेन ।
समूह ‘डी’ मा लगातार चौथो जितसँगै दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरिसकेको छ । नेपाललाई हराएको बंगलादेशले पनि चार खेलबाट ६ अंक बनाउँदै सुपर आठमा स्थान बनायो । नेपाल र श्रीलंका यसअघि नै समूह चरणबाटै बाहिरिएका थिए ।
नेपालको इनिङ्समा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले ५८ बलमा ५२ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन बनाए । कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाएका हुन् ।
यसअघि ओपनर कुशल भुर्तेल चार, अनिश शाह शुन्य तथा कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरा एक रन बनाएर पेभिलियन फर्किए । आशा गरिएका अलराउन्डर गुल्शन झा, सोमपाल कामी शुन्यमा आउट हुन पुगेपछि नेपाल दबाबमा आएको थियो ।
नाजिम हसन सकिवले चार बलमा दुई मेडनसहित ७ रन खर्चेर सर्वाधिक चार विकेट लिए । मुस्तफिजुर रहमानले चार ओभरमा एक मेडनसहित सात रन दिएर तीन विकेट लिएका थिए । सकिव अल हसनले २ विकेट लिए । तास्किन अहमेदको नाममा एक विकेट रह्यो ।
यसअघि नेपाली बलर हाबी भएपछि टेष्ट राष्ट्र बंगलादेशले दबाबमा आएको थियो । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको नाममा समान दुई विकेट रह्यो । दुई खेलाडी रनआउट भएका थिए ।
बंगलादेशविरुद्ध दुई विकेट लिएका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनी समग्रमा कम बलमा एक सय रन पूरा गर्ने दोस्रो खेलाडी बने । अफगानिस्तानका कप्तान रसिद खान पहिलो स्थानमा छन् । दक्षिण अफ्रिकाविरुद्ध चार ओभरमा चार विकेट लिएका कुशल भुर्तेल बंगलादेशविरुद्ध भने विकेटविहिन भए । उनले चार ओभरमा २२ रन खर्चिए ।
पहिलो बलमै सोमपाल कामीले ओपनर तान्जिद हसनलाई आफ्नै बलमा क्याच आउट गर्दै दबाब सिर्जना गरेका थिए । अलराउन्डर सकिब अल हसनले २२ बलमा सर्वाधिक १७ रन बनाए । उनलाई कप्तान रोहितले एलबिडब्लु धरापमा पारेका थिए । बंगलादेशको लागि महमुदुल्लाह र सकिवले २० बलमा सर्वाधिक २२ रनको साझेदारी गरेका थिए ।
यसअघि नेपाल टेष्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेदरल्यान्ड्ससँग पहिलो खेलमा ६ विकेटले हारेको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो ।