वारा– फेटा गाउपालिकाले पालिकाभित्र रहेको खानेपानी समस्या समाधानका लागी विभिन्न योजना अगाडी बढाएको छ । नगरवासीले शुद्ध पानी खान पाउन र उनीहरुलाई कहिले पनि खानेपानीको समस्या समाधान नहोस भन्दै गाउपालिकाले खानेपानी योजनालाई प्राथमिकतामा राखेर अगाडी बढीरहेको फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारीले जानकारी दिए ।
खानेपानी समस्या समाधानका निम्ती फेटा गाउपालिका वडा नं. ३ बजार क्षेत्रमा रहेको जिर्ण खानेपानी ट्यांकलाई मर्मत संम्भार गरी संचालनमा ल्याउने तयारी सुरु गरिएको उनले बताए । गर्मीको मौसम सुरु हुने बितिकै बजार क्षेत्रका अधिकांश चापाकल सुकेर खानेपानीको हाहाकार हुने गरेको थियो । सो समस्यालाई मध्यनजर गर्दै अहिले खानेपानी उपलब्ध गराउन योजना सम्पन्न गर्ने कार्यलाई तिब्र रुपमा अघि बढाईएको उनले बताए ।
गाउपालिकाका अध्यक्ष अन्सारीकै पहलमा २० वर्ष देखी अलपत्र परेको खानेपानी आयोजनालाई संचालनमा ल्याउने तयारी तिब्र पारिएको स्थानीय वासिन्दाले जानकारी दिए ।
अहिले खानेपानी ट्यांकी देखी आम उपभोक्ताको घर घर सम्म खानेपानीको पाई बिछ्याउने कार्य भईरहेको गाउपालिका अध्यक्ष अन्सारीले बताए ।
अहिले देखी नै फेटा गाउपालिका ३ बजार क्षेत्रको चापाकल सुक्न थालेका छन । चापाकल सुकेपनि यस क्षेत्रको जनतालाई खानेपानीको समस्या हुन नदिन दिर्घकालिन उपायमा आफु जुटेको उनले जानकारी दिए ।
‘अब बजार क्षेत्रका बासिन्दालाई कहिल्यै पनि खानेपानीको अभाव हुदैन,’ उनले भने, ‘खानेपानीको पाईप बिछ्याउने काम सकिएसंगै पानी सप्लाई सुरु हुन्छ ।’ वडा नं. ३ का सबै जनताको घरसम्म पुग्ने गरी पाईप बिछ्याउने काम भईरहेको उनले जानकारी दिए । तत्कालै वडा नं. ३ का करीब ५ सय घर परिवारलाई लाभान्वीत हुने गरी योजना अगाडी बढाईएको उनले जानकारी दिए ।
गाउपालिकाकै बजेटमा जिर्ण खानेपानी आयोजनालाई संचालनमा ल्याउने तयारी गरिएको उनले बताए । अहिले यस वडामा ५० प्रतिशत भन्दा बढी खानेपानी पाई बिछ्याउने काम सकिएको उनले बताए । अबको एक/दुई साता भित्र सबै काम सम्पन्न गरेर पाईपमा पानी सप्लाई गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
गाउमा खानेपानी सप्लाई गर्ने काम गाउपालिकाले थालेपछि स्थानीय वासिन्दाहरु खुशी व्यक्त गरेका छन । योजना पुर्ण रुपमा संचालनमा आएपछि वडाभरीका ६ हजार भन्दा बढी जनता शुद्ध खानेपानी खान पाउने विश्वास लिईएको छ ।
यस अघि नै गाउमा खानेपानी ट्यांकी निर्माण गर्ने काम सम्पन्न भईसकेको थियो । तर पाईप बिछ्याउने र पानी सप्लाई गर्ने काम अधुरै रहेको थियो । अधुरो कामलाई गाउपालिका अध्यक्षले पुरा गरिदिएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन ।
शुद्ध खानेपानी नपाउदा पालिकावासी गर्मीको बेलामा बिरामी हुने गरेका थिए । अहिले संचालनको तयारीमा रहेको खानेपानी योजनाले गाउपालिकाको स्वास्थ्य पनि सुरक्षित पार्न मदत गर्ने फेटा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्रले बताए ।