यस वर्षको हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । अधिकांशको मृत्युको कारण यस वर्षको चरम गर्मी रहेको अधिकारीले बताएका छन् ।
हजयात्रामा मृत्यु हुनेको पछिल्लो तथ्यांकमा इजिप्टका सबैभन्दा धेरै तीर्थालु रहेको एक कूटनीतिज्ञले बताए । हज तीर्थयात्राका क्रममा लगभग १० देशका एक हजार ८१ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । इस्लामिक क्यालेन्डरअनुसार निर्धारित समयमा गरिने हज यस वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेकाले धेरैले कठिनाइ अनुभव गरेका छन् ।
साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रले गत हप्ताको सुरुमा मक्कास्थित ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियसको उच्च तापक्रम मापन गरेको थियो । गत महिना प्रकाशित एक साउदी अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ ।
अधिकारीहरूले अनुमतिविना प्रवेश गर्नेको संख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापनमा समस्या आउँदा यो वर्ष गर्मीबाट मर्नेको संख्या उच्च भएको बताएका छन् । प्रत्येक वर्ष हजारौँ हज तीर्थयात्री वैध अनुमतिका लागि महँगो शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हजयात्रा गर्ने प्रयास गर्छन् । इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीको मृत्यु भएको बताएका छन् ।
इजिप्टबाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तान प्रशासनले पनि आफ्नो नागरिकको मृत्यु भएको रिपोर्ट गरेका छन् । मृतकका परिवार र आफन्तहरूले अझै बेपत्ता भएका तीर्थयात्रीको खोजी गरिरहेका छन् ।