मेयर र उपमेयर दुवै जना भ्रष्टाचार मुद्दा परेर निलम्बनमा परेपछि महोत्तरीको जलेश्वर नगरपालिकामा वडाध्यक्षहरूलाई कार्यवाहक मेयर र उपमेयरको जिम्मेवारी दिइएको छ ।
कार्यवाहक प्रमुख (मेयर) मा ९ नम्बर वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुख (उपमेयर) मा ३ नम्बर वडाध्यक्ष रतन चौधरी नियुक्त भएका हुन् । उनीहरूलाई बाँकी कार्यपालिका सदस्यहरूले बहुमतीय प्रणालीबाट कार्यवाहक नियुक्त गरेका हुन् । नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भएपछि ठप्प रहेको कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्रमुख, उपप्रमुखसहित १२ जना निलम्बनमा परेका थिए । गत २७ वैशाखमा जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।
प्रमुख, उपप्रमुख र आवश्यक जनशक्तिको अभावमा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विभिन्न काम रोकिएको अवस्था थियो । नगरपालिकाको कार्यपालिका सदस्यको बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा–१ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसिसी ढलान कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि मेयर सुरेश साह सोनार, उपमेयर रौशन खातुन, वडा–१ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इन्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इन्जिनियर राकेशकुमार चौधरी, सवइन्जिनियर दीपेशकुमार साह, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्बनमा परेका थिए ।
उनीहरूले हाटबजारमा भएको वास्तविक कामभन्दा बढी भएको भनी गलत विवरण तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।