पर्साको प्रसिद्ध गहवामाईको दोस्रो रथयात्रा असार २३ गत निकालिने भएको छ।
वीरगञ्ज महानगरको ऐतिहासीक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा यहि असार २३ गते वृहत्त रथ यात्रा निकिलिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए।
गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा निकालिने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताए। रथयात्राका लागि समितिले रथ भित्रको मण्डपलाई चाँदीको बनाउने र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गर्ने काम भइरहेको उनले बताए।
एक महिना अघिदेखि नै रथको मण्डपलाई काठमाडौंको विशेष कारिगरसँग चाँदीको पत्र जडान गर्ने काम सुरु भइसकेको समितिले जनाएको छ।
रथको मण्डपलाई चाँदीको पत्रले ढाक्न १५ किलो बराबरको चाँदी खपत हुने समितिले जनाएको छ। जसमा अहिलेसम्म स्थानीय दाताहरूले सहयोग गरिरहेको रथ समितिका उपाध्यक्ष देवानन्द कलवारले बताए।
गहवामाईको रथ निर्माणमा पछिल्लो वर्ष करिब २० लाख रुपैयाँ खर्च भएको रथ यात्रा निर्माण समितिका महा–सचिव पप्पु गुप्ताले बताए। यस वर्षको खर्च रथ यात्रा निकालिएपछि मात्र बताउन सकिने उनले बताए।
गत वर्ष रथ यात्राका लागि वीरगञ्ज महानगरपालिकाले ३ लाख रुपैयाँ, माईस्थान मन्दिर सञ्चालक समितिले साढे ३ लाख र बाँकी रकम स्थानीय दाताहरूले दान स्वरुप सहयोग गरेको उनले बताए। गत वर्ष रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको थियो। जसमा वन विभागबाट सरकारी मूल्यमा काठ उपलब्ध गराइएको थियो। सखुवा र सिसमको काठले तयार पारिएको रथ २ महिनामा तयार भएको थियो।
गतवर्ष हजारौ श्रद्धालुको भिडमा निकालिएको थियो गहवा माईको रथयात्रा
गत वर्ष असाढ ५ गते वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक रथयात्रा निकालिएपछि पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए । देवीको रथलाई लाई फुलैफुलले दुलहीझैं श्रृगांरिएको थियो ।
मन्दिर पनि सयपत्रि फुल र झिलिमिलि बत्तिले सजाइको छ । रथयात्रामा भोजपुरी समुदायका पारम्परिक लोक बाजा तथा धार्मीक नृत्य र झाँकी पनि प्रस्तुत गरिएका थिए ।
वीरगञ्ज नगरको स्थापना गहवा गाउँबाट भएको मान्यता रहेको छ । गहवामाई कै नामबाट सो ठाउँको नाम परेकाले गहवामाई लाई नगरकि देवीको रुपमा पुज्ने गरिन्छ ।
यहाँको हरेक धार्मीक कार्य देखी लिएर विवाह यज्ञ जे गर्दा पनि स्थानीयहरुले घरको कुल देवता पछि उनलाई आह्वान गर्ने धार्मीक रितिरिवाज छ । वीरगञ्ज बजारको मुटुमा अवस्थित गहवामाईलाइ “दुअरदेवी माई” “माईस्थान” अर्थात देवीको स्थान भनेर पनि चिन्ने गरिन्छ । वीरगंञ्ज आउने जो कोहि पनि हिन्दुधर्मावलम्बि एक पटक गहवामाईको दर्शन अवस्य गर्छन् ।
स्थानीय युवाहरुको सकृयतामा भएको रथ यात्रा सराहनीय भएको माईस्थान संचालक समितिका पुर्व अध्यक्ष दिना प्रसाद गुप्ताले बताए । धर्मप्रति युवाहरुको आस्था हराइरहदा अहिले युवाहरुको जमातले ऐतिहासीका काम गरेको र उनीहरुकै सकृयतामा यस्तो वृहत कार्यहरुको आयोजना हुनु सम्पुर्ण नगरवासीका लागी खुशीको कुरा भएको उनले बताए ।