जिप स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा भएको दुर्घटनामा रोल्पामा एउटै पालिकाका ६ सहित सातजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् ।
माडी गाउँपालिका– २ घर्तीगाउँबाट वडा नम्बर ४ तालाबाङतर्फ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप सोमबार साँझ ६ बजेतिर परेवा छहरामा सडकबाट चार सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार पाँचजनाको घटनास्थलमै र दुईजनाको रेउघा जिल्ला अस्पतालमा ज्यान गएको छ । माडी गाउँपालिका– ३ तालाबाङकी ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खड्कबहादुर डाँगी, सोही गाउँपालिका दाबाङकी ३० वर्षीया अमृता घर्ती र अमृताकी १८ महिनाकी छोरीको ज्यान गएको छ ।
त्यस्तै, परिवर्तन गाउँपालिका– २ राङ्सीकी ३३ वर्षीया रामकली पुनको पनि घटनास्थलमै ज्यान गएको छ । माडी गाउँपालिका– ३ दाबाङका ७० वर्षीय झुपलाल डाँगी र पहिचान नखुलेका अर्का एक व्यक्तिको रेउघा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
रेउघामा उपचाररत घाइते खगेन्द्र बाँठाले जिप स्टार्टमै रोकेर चालक अगाडि पहिरो हेर्न जाँदा ब्याक भएर भीरबाट खसेको बताए । ‘अगाडि बाटोमा पहिरो देखेपछि चालक जिप स्टार्टमै छाडेर हेर्न गए, हामी जिपभित्रै थियौं ।
एकैछिनमा गाडी विस्तारै ब्याक हुन थाल्यो । तत्कालै चालक दौडिँदै आई जिपमा चढेर ब्रेक लगाउन खोजे । तर, जिपको पछाडिको चक्काले सडक छाडिसकेकाले रोकिएन । म हामफालेर बाँचें, जीप भिरमा बजारिँदै खस्यो,’ तालाबाङका उनले भने ।
रोल्पाकै परिवर्तन गाउँपालिका– २ नाफेका ४५ वर्षीय चालक दिपक थापा पनि घाइते छन् । उनीसहित माडी– २, घर्तीगाउँका हिटलर खड्कालाई थप उपचारका लागि जिल्ला अस्पतालबाट बुटवल रिफर गरिएको छ ।
घाइते खगेन्द्र बाँठा भन्छन्–अगाडि बाटोमा पहिरो देखेपछि चालक जिप स्टार्टमै छाडेर हेर्न गए, हामी जिपभित्रै थियौँ । एकैछिनमा गाडी बिस्तारै ब्याक हुन थाल्यो । तत्कालै चालक दौडिँदै आई जिपमा चढेर ब्रेक लगाउन खोजे । तर, जिपको पछाडिको चक्काले सडक छाडिसकेकाले रोकिएन । म हामफालेर बाँचेँ, जिप भिरमा बजारिँदै खस्यो ।