नयाँ दिल्ली । भारतको लोेकसभाको सोमबारको बैठकमा विपक्षी नेता राहुल गान्धीले शिवजीको तस्बिर देखाउँदै बोलेको विषयले त्यहाँ हंगामा मच्चिएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मूले हालै संसदमा सम्बोधन गरेकोमा त्यसको धन्यवाद प्रस्तावका क्रममा करिब डेढ घण्टा बोलेका राहुलले शिवजीको तस्बिर देखाउँदै भनेका थिए, “शिवजी भन्छन् नडराऊ । अरुलाई पनि डर नदेखाऊ । अभय मुद्रा देखाउँछन् । अहिंसाको कुरा गर्छन् । तर, जो मानिस आफूलाई हिन्दू भन्छन् उनीहरु चौबीसै घण्टा घृणा, हिंसा र झूठ फैलाउँछन् ।”
राहुल खासगरी हिन्दुवादी सत्तारुढ पार्टी भाजपामाथि प्रहार गरिरहेका थिए ।
राहुलको यो मन्तव्यलाई बीचमा रोक्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “यिनले ठूलो आरोप लगाइरहेका छन् । नेता प्रतिपक्ष हिन्दु समुदायको हिंस्रक भनिरहेका छन् ।”
यसको जवाफमा राहुलले तुरुन्तै भने, “केवल नरेन्द्र मोदी, भाजपा र आरएसएस मात्र हिन्दु समाज होइनन् । हामी सबै हिन्दु हौं ।”
भाजपाका सांसदले राहुलको मन्तव्यको बीच बीचमा कैयौं पटक आपत्ति जनाएका थिए । त्यसमा प्रधानमन्त्री मोदी देखि गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहसम्म थिए । उनीहरुले पनि राहुललाई आफ्नो भनाईलाई लिएर सदनमा माफी माग्न आग्रह गरेका थिए ।
राहुलले आफ्नो मन्तव्यमा धर्म, महंगी, अग्निबीर योजना, किसानका मुद्दालगायतका विषय जोडदार रुपमा उठाएका थिए । संसदमा नभएका विदेशमन्त्री एस जय शंकरले चाहिं एक्स मार्फत राहुलको भनाईमा प्रतिक्रिया जनाएका छन् ।
उनले भनेका छन्, “यी नेता प्रतिपक्ष हुन् । जो भाइचाराका कुरा गर्छन् र हिन्दुमाथि हमला गर्छन् । जो भारतीय सेनाको कल्याणलाई लिएर चिन्ता व्यक्त गर्दछन् । उनीहरुको बहादुरीको अपमान गर्दछन् । जो संविधानको सम्मानको ज्ञान दिन्छन् र स्वयम् क्याबिनेटको फैसलालाई च्यात्छन् । कांग्रेसको राजनीतिमा तपाईंलाई स्वागत छ ।”
(बीबीसी)