गहवामाईको रथ यात्रालाई सुरक्षित तथा मर्यादित रुपमा सम्पन्न गर्न वीरगंजमा २ दिनसम्म मदिरा तथा माछामासु विक्रि वितरणमा रोक लगाइएको छ । गहवामाई मन्दिरको १२ औं वार्षिक उत्सवकाे अवसरमा पर्सी आइतबार २३ गते वीरगंजमा रभव्य रथ यात्रा निकालिने भएको छ ।
सोहि अवसरमा रथ यात्रा र त्यसको भोलिपल्ट सोमबार आयोजना हुने महाप्रसाद वितरणका दिन गरी दुई दिनका लागि महानगर क्षेत्रभित्र माछामासु विक्रिवितरण नगर्न नगराउन वीरगंज महानगरले सरोकारवाला सबैमा सूचना मार्फत जानकारी गराएको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस अवधिमा महानगर क्षेत्रभित्र मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको बताए ।
असार २३ गते विद्यालयहरु बन्द
वीरगञ्ज महानगरपालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु असार २३ गते बन्द रहने भएका छन्। गहवामाईको रथ यात्रा निकालिने भएकाले सो दिन महानगरपालिकाका सबै विद्यालयहरूमा विदा दिने निर्णय गरिएको हो।
वीरगञ्ज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यस कुराको जानकारी गराएको हो।
असार १६ गते महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले ऐतिहासिक गहवामाईको भव्य रथ यात्रा असार २३ गते निस्किने भएकाले उक्त रथ यात्रामा बढीभन्दा बढी भक्तजनहरूको सहभागीता गराउनका लागि सबै शैक्षिक संस्थामा बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ
यसअघि गत बर्ष असार ५ गते पहिलो पटक गहवामाईको रथ यात्रा निकालिएको थियो।