बलिउडका निर्माता–निर्देशक महेश भट्टको फिल्म ‘अर्थ’ हिन्दी चलचित्र क्षेत्रको ल्यान्डमार्क मानिन्छ । बलिउडमा जहाँ प्रायः पुरुषप्रधान चलचित्र मात्रै लेखिन्थ्यो र निर्माण हुन्थ्यो, यस्तोमा अर्थले जुन संवेदनशिलता, जुन सफाइ र साहसका साथ महिलाको संवेदना र उसको यात्रालाई केलाएको छ ।
त्यो १९८० को दशकको लागि ठूलो कुरा थियो । जहाँ ‘डिस्को डान्सर’देखि लिएर ‘मर्द’ जस्तो मेन स्ट्रिम चलचित्र बन्ने गरेको थियो । यस्तोमा अर्थले तरंग नै ल्याइदिएको थियो । यसमा दुई सम्बन्ध र दुई महिलाहरुको कथा छ, जसको जीवनले आफ्नै अर्थ खोज्ने प्रयास गरेको छ । चलचित्रमा पूजाको भूमिकामा शवाना आजमीको सशक्त अभिनय हेर्न सकिन्छ ।
पूजा बाल्यकालदेखि अनाथ थिइन् र बिहेपछि श्रीमान् इन्दर नै उनको संसार हुन्छ । अर्की महिला कविताको भूमिकामा स्मीता पाटिलको अभिनय पनि उत्तिकै सशक्त छ । कविता जो सुपरस्टार छिन्, तर भित्रबाट आफूलाई एकदमै असुरक्षित र कमजोर महसुस गर्छिन् । उनको जीवनमा प्रेम छ तर त्यो सबैको नजरमा नाजायज छ ।
यी दुवै महिलालाई तोड्ने र जोड्ने धागो हो इन्दर (कुलभूषण खरबंदा) जो पत्नी पूजालाई धोका दिएर पनि आफ्नो सफाइ दिँदै भन्छन्, ‘मैले तिमीलाई प्रेम गर्न छोडेको छैन तर फरक यति भयो कि म कवितालाई पनि प्रेम गर्छु ।’ सम्बन्धहरुको यस भूमरीमा जीवनको अर्थ खोज्ने यी दुई महिलाको कथा हो अर्थ, जो ४० वर्ष अघि १९८२ मा आएको थियो ।
त्यतिबेला यस्तो नारी प्रधान चलचित्रको लत बसेकै थिएन बलिउडमा । यसमा नायक भनेकै महिला पात्र हुन् । चलचित्रमा न नायक छ न त खलनायक । भनिन्छ, यो महेश भट्टको आफ्नै जीवनमा आधारित कथा हो, जब उनी लरेन ब्राइटसँग विवाहपछि पनि बलिउडकी चर्चित अभिनेत्री परवीन बॉबीसँग नजिकिए । पछि यी दुईको सम्बन्ध समाप्त हुन पुग्यो ।
चलचित्रमा शबानाले एउटी यस्ती महिलाको चरित्र निभाएकी छन् जो अन्य थुप्रै महिलाको जस्तै भावनात्मक, मानसिक र आर्थिक रुपमा पूर्णत आफ्नो श्रीमानमाथि निर्भर हुन्छिन् । जब उनले थाहा पाउँछिन् उनको श्रीमानको सम्बन्ध अर्की महिलासँग छ यस्तोमा उनले श्रीमानलाई नराम्रो भन्नु, गालीगलौच गर्नु जस्तो केही गर्दिनन् ।
बरु भन्छिन्, मसँग त्यस्तो के गल्ती भयो इन्दर ! जे कमी छ म त्यो पूरा गर्ने प्रयत्न गर्छु, मलाई एक मौका देउ । पूजा मल्होत्रा (शबाना) को जीवनको अर्थ यही हो कि सम्भवतः कमी उनैमा होला । तर यो चलचित्रले के देखाउँछ भने विस्तारै उनी जीवनको अर्थ बुझ्दै जान्छिन् र कसरी त्यो सम्बन्धबाट बाहिर निस्किन्छिन् ।
यहाँसम्म पुग्नको लागि उनले थुप्रै आरोह अवरोहबाट गुज्रिनुपर्छ । यही पाइला र पडावहरु नै अर्थ चलचित्रको असली अर्थ हो । परिवर्तन रातारात नभएर त्यसको पूरै संघर्ष र अभ्यास छ जसलाई चलचित्रको महत्वपूर्ण पक्ष मान्न सकिन्छ ।
शबानाको यात्राको पहिलो पडावमा उनी आँशु चुहाउँछिन् र आफ्नो अहमलाई बिर्सेर कविता (स्मिता पाटिल)को अगाडि पति फर्काइदिन अनुनयविनय गर्छिन् । रिस, हतास र रक्सीको मातमा पार्टीमा कविता (स्मिता)सँग जस्तो व्यवहार गर्छिन् र जुन शब्दको प्रयोग गर्छिन् त्यसमाथि उनलाई स्वयं विशवास लाग्दैन ।
यी दुई नायिकाबीचको झडपको दृश्य नै चलचित्रको महत्वपूर्ण दृश्य रहेको मानिन्छ । जहाँ घरभन्दा बाहिर बोल्न नसक्ने पूजा ठूलो स्वरमा आफ्नो रिस पोखिरहेकी हुन्छिन् । अर्थ वास्तवमा पूजाको कथा हो तर दोस्रो महिलाको रुपमा रहेकी कविताको कथालाई उसैको दृष्टिकोणबाट भन्ने प्रयत्न गरिएको छ ।
खासमा उनको असुरक्षाको भावना र उनको इमोशनल स्थितिलाई दर्शाउने प्रयास गरिएको छ । चलचित्र अर्थमा दोस्रो महिलाको डर, उभित्रको असुरक्षा र बिग्रिँदै गएको मानसिक स्वास्थ्यलाई संवेदनशीलताको साथ पर्दामा उतारिएको छ । मनोचिकित्सकको सल्लाह अनुसार पूजा कविताको घर उनीसँग भेट्न पुग्छिन् ताकि उनले आफ्नो मनमा भएको काल्पनिक डरको सामना गर्न सकुन् ।
दुवैको बीचमा भएको संवाद एकदमै मार्मिक छ, जसमा कविताले पूजालाई भन्छिन्, ‘म इन्दरलाई मन पराउँछु तिम्रो श्रीमानलाई होइन । म मेरो घर बसाउन चाहन्छु, तिम्रो उजाड्न खोजेको होइन ।’ जवाफमा पूजाले भन्छिन्, ‘मेरो कुनै घर नै कहाँ थियो र तिमीले केही उजाडेको छैनौं ।’
यहाँ कविताको भित्रको अपराधवोधले उसलाई भित्रभित्रै पीडा दिइरहेको हुन्छ । त्यही पूजा अब विस्तारै त्यो स्थानमा पुगेकी छन् जहाँ उनले कवितारुपी सत्य र जीवनको सामना हिम्मत र शालीनताका साथ गर्न तयार छिन् ।
एक पत्रमा श्रीमानलाई साँचो र पैसा छोडेर तिम्रो कविताको जीवनबाट म जाँदैछु भन्दै पत्र पठाउँछिन् अर्थात् अब अनुनय गर्ने परिस्थितिबाट बाहिर निस्केर उनी स्वाभिमानका साथ लड्न तयार छिन् । पूजालाई अबको बाटो स्वयं बनाउनु छ तर उनको असल मित्रको रुपमा एक गजल गायकको रुपमा राजकिरणको पदार्पण हुन्छ जो स्वयं बेरोजगार भए पनि पूजालाई हिम्मत र हौसला प्रदान गरिरहन्छ ।
चलचित्रको संवाद पनि उत्तिकै सशक्त छ । चलचित्रको एक सीनमा कविताले प्रेमी इन्दरलाई भन्छिन्, ‘जो विहे सात वर्षमा पूजालाई कुनै सुरक्षा दिन सकेन भने मलाई के दिन्छ ?’ चलचित्रको अन्तिम दृश्य र संवाद थुप्रै कुराको लागि महत्वपूर्ण मानिएको छ ।
श्रीमानसँगको सम्बन्धको अन्त्य होस् अथवा राजकिरणसँगको मित्रताको प्रारम्भ जसमा पूजाले श्रीमानलाई त्यागिदिएपछि प्रेम र सहानुभूतिको बीच आफ्नो स्थान खोजिरहेकी हुन्छिन् । यस्तोमा राजकिरणले उनलाई भन्छन्, तिम्रो जीवनको कुनै अर्थ छ कि छैन भन्ने कुरा फैसला तिमीले आफ्नो लागि गर्नुपर्छ ।
अर्थ चलचित्र पूजा र कविताको कथा मात्रै नभएर ती सबै महिलाको कथा हो जो कुनै न कुनै स्तरमा आफ्नो युद्ध लडिरहेका छन् । जसमा पूजाको घरमा काम गर्ने महिलालाई उसको पतिले रक्सीको मातमा पिट्छ जसको लागि पूजाले आवाज उठाउँछिन् । आजित भएर पतिको हत्या गर्न पुगेकी उनकी काम गर्नेकी छोरीलाई पनि उनले सहारा दिन्छिन् ।
यस्तै कविताले इन्दरलाई परित्याग गरेपछि उनी पुनः पहिली श्रीमति पूजासँग आफूलाई स्वीकार गर्न आग्रह गर्दा पूजा भन्छिन्, यदि म तिमीजस्तै कुनै परपुरुषसँग बसेर आएको भए के तिमीले मलाई अपनाउँथ्यौ ? यस्तो कडा जवाफ र तिखो प्रश्न गर्ने नायिकालाई बलिउडले यसअघि देखेको थिएन ।
जुन भूमिकालाई पूजा अर्थात् शवानाले जीवन्त बनाइदिइन् जो आजको समयमा पनि उत्तिकै अर्थ राख्छ । पूजा श्रीमानलाई यति भनेर आश्रय दिएकी छोरीलाई काखमा लिएर अगाडि बढ्छिन् । यो नै चलचित्रको सबैभन्दा बलियो क्लाइमेक्स सिन हो । जसमा अब एउटी महिलाले आफ्नो लागि एक्लै यात्रा तय गर्ने संदेश प्रवाह गरेको छ ।
यो नै हो अर्थको कथा । चलचित्रको महत्वपूर्ण पक्ष यसको गीतसंगीत पनि रहेको छ । चलचित्रको अधिकांश गीत कैफी आजमीले लेखेका छन् । जगजीत सिंह र चित्रा सिंहको गजल चलचित्रको महत्वपूर्ण पक्ष हो ।