वीरगञ्ज । पर्साको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा निकालिएको छ ।रथयात्रामा हजाराैकाे संख्यामा भक्तजनहरु सहभागी भएका थिए ।
गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजेबाट निकालिएको रथयात्रा घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायत नगरको विभिन्न भागकाे परिक्रमा पश्चात रथयात्रा पुन् गहवामाई मन्दिरको प्राङ्गणमै पुगेर सम्पन्न भएकाे हाे ।
गत वर्ष काठले बनाइएको पुरानो रथलाई रङ्गरोदन गरि रथको बाहिरी भागलाई सयपत्री फुलले दुलही झै सिंगारिएको छ । रथ कै भित्र काठमाडौंका विशेष कारिगरहरु मिलेर चाँदीको मण्डप तयार पारेका छन्। मण्डपमा करिब १५ किलो चाँदी खपत भएको समितिले जनाएको छ।
रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले भने ‘गहवामाई मन्दिर प्राङ्गणमा आज साँझ ६ बजे देखि भजन किर्तनका कार्यक्रम हुनेछ । ’ यसैगरी भोलि साँझ ५ बजे महाभंडारा (प्रसाद ग्रहण कार्यक्रम) रहेको पोखरेलले बताए ।
रथयात्रामा बढीभन्दा बढी भक्तजनहरुको सहभागी होस् भन्ने उदेश्यले आज वीरगन्ज महानगर अन्तर्गतका सबै सामुदायीक तथा संस्थागत विद्यालयमा आज विदा दिइएको छ । आज र भोलि वीरगन्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा विक्रिवितरणमा समेत रोक लगाइएको छ ।
हजारौ श्रद्धालुको भिडमा निकालिएको थियो गहवा माईको रथयात्रा
वीरगञ्ज नगरको स्थापना गहवा गाउँबाट भएको मान्यता रहेको छ । गहवामाई कै नामबाट सो ठाउँको नाम परेकाले गहवामाई लाई नगरकि देवीको रुपमा पुज्ने गरिन्छ ।
वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको नवनिर्मित मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो पटक निकालिएको रथयात्रामा पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए । देवीको रथलाई लाई फुलैफुलले दुलहीझैं श्रृगांरिएको थियो ।
यहाँको हरेक धार्मीक कार्य देखी लिएर विवाह यज्ञ जे गर्दा पनि स्थानीयहरुले घरको कुल देवता पछि उनलाई आह्वान गर्ने धार्मीक रितिरिवाज छ । वीरगञ्ज बजारको मुटुमा अवस्थित गहवामाईलाइ “दुअरदेवी माई” “माईस्थान” अर्थात देवीको स्थान भनेर पनि चिन्ने गरिन्छ । वीरगंञ्ज आउने जो कोहि पनि हिन्दुधर्मावलम्बि एक पटक गहवामाईको दर्शन अवस्य गर्छन् ।
स्थानीय युवाहरुको सकृयतामा भएको रथ यात्रा सराहनीय भएको माईस्थान संचालक समितिका पुर्व अध्यक्ष दिना प्रसाद गुप्ताले बताए । धर्मप्रति युवाहरुको आस्था हराइरहदा अहिले युवाहरुको जमातले ऐतिहासीका काम गरेको र उनीहरुकै सकृयतामा यस्तो वृहत कार्यहरुको आयोजना हुनु सम्पुर्ण नगरवासीका लागी खुशीको कुरा भएको उनले बताए ।