काठमाडौँ । गत २८ जेठमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनुसनी प्रणालीले देशभरकै जनजीवन प्रभावित बनाइरहेको छ । आइतबारदेखि सोमबारसम्म २४ घन्टाको अवधिमा सुदूरपश्चिमको कञ्चनपुरमा नेपालमै हालसम्मको धेरै वर्षा मापन गरिएको थियो । मंगलबारदेखि भने पश्चिमी क्षेत्रको मौसममा सुधार आउन थालेको छ । मौसममा सुधार हुन थालेपछि बाढीका कारण विस्थापित भएका घरपरिवार फर्किन थालिसकेका छन् ।
पश्चिममा मौसममा सुधार आउँदै गर्दा देशको पूर्वी भेगमा भने भारी वर्षा भएको छ । पूर्वका मोरङ, सुनसरी, उदयपुर, झापालगायत जिल्ला अविरल वर्षाका कारण प्रभावित बनेका छन् । सोमबार रातिदेखि मोरङ र सुनसरीमा परेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । मंगलबार सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैँचा, बेलबारी आसपासमा भारी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतहले जोखिमको स्तर पार गरेको थियो ।
सुनसरीको इटहरी–८ गोइँसारस्थित टेंग्रा खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी एकाइ इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोली खटिएको छ ।इटहरी–८ गोइँसारस्थित टेंग्रा खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी एकाइ इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोली खटिएको छ ।
यस्तै, भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएको बाढीका कारण झापाको जनजीवन प्रभावित भएको छ । बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगन्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
झापा गाउँपालिका र गौरीगन्ज–१ मा यस वर्ष बाढीले ३ जनाको मृत्यु भएको छ भने १ बालक बेपत्ता छन् । झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर सोमबार १ बालकको मृत्यु भएको हो । सोमबार दिउँसो खोलामा खेल्ने क्रममा घाइते भएका झापा गाउँपालिका–२ का रहमान आलम मियाका ३ वर्षीय छोरा दिलसाद आलम मियाको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि सोही ठाउँका १ जना र गौरीगन्ज–१ का १ जनाको मृत्यु भइसकेको छ । गौरीगन्ज–१ का १२ वर्षीय बालक कमल बनियानी खोलामा डुबेर २ साताअघि बेपत्ता भए पनि फेला परेका छैनन् ।त्यसैगरी, रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका–६ खयरबारीमा कटान गरेको छ । खयरबारी क्षेत्र २०५० सालअघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ ।
झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको सतह बढ्दा डुबानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ भने सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानीको सतह बढ्दा नदीको बीच भागमा अड्किएका ५ जनाको सुरक्षा बेस कल्याणपुर र सुरक्षा बेस दुवरकोटको टोलीले सकुशल उद्धार गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा बाढीका कारण १८६ घर डुबानमा परेका छन् भने २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत गरेको छ ।यस्तै, त्रियुगा नदीमा जलसतह बढ्दा डुबानमा परेका सप्तरीको सप्तकोसी नगरपालिका–२ सिद्धिपुरको सुकुमबासी बस्तीका १६ घरपरिवारलाई सुरक्षा बेस फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।
पहिरोमा परी २ जनाको मृत्यु, ५ घाइते
रुकुम पूर्वमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा–१ का कर्णबहादुर बुढाको परिवारका ४ जनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको बताए ।
यस्तै, निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ८ वर्षकी रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हिरामाया मगर र उनका ७ वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । तोरीबारीमा पहिरोले ४ घर पुरेको छ भने अन्य ५ घर उच्च जोखिममा छन् ।
पश्चिममा मौसम सुधार
मौसममा क्रमशः सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका ९ वटा पालिकाका ४ हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझसम्म अधिकांश घर फर्किएका छन महाकाली नदीमा पानीको सतह घटेपछि बनबासा पुलमा पनि आवागमन पनि खुलिसकेको छ । बाढी तथा घर डुबानमा परेकाहरू विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए । कञ्चनपुरमा बाढीमा परी ३ किशोरी र ७ महिने शिशुसहित ४ जनाको मत्यु भएको छ भने १ जना अझै बेपत्ता छन् ।
८० जनाको मृत्यु, ९७ घाइते
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभरमा अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि मंगलबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी ८० जनाको मृत्यु भएको हो ।
बाढीपहिरोमा परी गण्डकी प्रदेशमा २२ जना, लुम्बिनीमा २० जना, कोसीमा १९ जना, सुदूरपश्चिममा ७ जना, बाग्मती र कर्णाली प्रदेशमा ४–४ जना, मधेस प्रदेशमा ३ जना र काठमाडौँ उपत्यकामा १ जना गरी ८० जनाको मृत्यु भएको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा २६ जना, कोसी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा १५ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना, मधेस प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ८ जना, बाग्मती प्रदेशमा ४ जना र काठमाडौँ उपत्यकामा ३ जना गरी जम्मा ९७ जना घाइते भएका छन् ।
साथै, कोसी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी कोसी प्रदेशमा २ जना, बाग्मती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएका छन् । बाढीका कारण जम्मा १६१ घर डुबानमा परेकामा १३८ घर, ५४ वटा गोठ, ४१ वटा पुल, २ वटा सरकारी कार्यालय र एउटा विद्यालयमा क्षति पुगेको छ । यस्तै, ३८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७६४ घरपरिवार विस्थापित भएका छन् ।