काठमाडाैं। जेठ दोस्रो हप्तायता झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरुले बताएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्।
मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्।
कूटनीतिक प्रयासको प्रतिफल
२२ फेबु्रवरी २०२२ (१० फागुन २०७८) मा युक्रेनमाथि आक्रमण गरेको रुसले २०२२ सेप्टेम्बरदेखि विदेशी नागरिकहरुलाई सेनामा भर्ती लिन थालेको थियो। सुरुवातमा रुसमा विभिन्न कामको सिलसिलामा बसोबास गरिरहेका पूर्वसोभियत संघमा आवद्ध मुलुकका रुसीभाषी नागरिकहरु भर्ना भएका थिए। युद्धको समयमा भर्ती हुँदा आकर्षक तलब–भत्ता प्राप्त हुने भएपछि रुसमा पढ्न गएका कतिपय नेपाली विद्यार्थीहरु २०२३ मे महिनादेखि भर्ती हुन थाले। आकर्षक तलबका कारण पछि कतिपय नेपालीहरु स्वेच्छाले भर्ती हुन रुस पुगे। कतिलाई मानव तस्करहरुले रुस पु¥याए।
विभिन्न सञ्चारमाध्यमहरुले रुसी सेनामा नेपालीहरु पनि भर्ती भएको समाचार प्रकाशन गरे पनि युक्रेनी आक्रमणमा गोरखाका सन्दीप थपलिया मारिएको घटना सार्वजनिक भएसँगै रुसी सेनामा नेपालीहरुको आवद्धता रहेको आधिकारिक तबरमा पुष्टि हुन पुगेको थियो। त्यसपछि मस्कोस्थित नेपाली राजदूतावास र काठमाडौँबाट परराष्ट्र मन्त्रालयले दुई पक्षीय सम्झौतामार्फत् परम्परागत रुपमा भर्ती स्वीकृत भएबाहेकका मुलुकका सेनामा भर्ती नहुन आह्वान गरे। १ डिसेम्बर २०२३ (१५ मंसिर २०८०) मा नेपालले कूटनीतिक नोटमार्फत् रुसी सेनामा नेपालीहरुको भर्ती रोक्न, युद्धमा घाइते नेपालीहरुको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको थियो।
नेपालको यो आग्रहलगत्तै रुसी परराष्ट्र मन्त्रालयका दक्षिण एसिया मामिला हेर्ने उच्च अधिकारीले रुसका लागि नेपाली राजदूत मिलन तुलाधरसँगको कुराकानीमा नेपालको मागका सम्बन्धमा रुस सरकारले सहानुभूर्तिपूर्वक व्यवहार गर्ने जानकारी गराएका थिए। स्रोतका भनाइमा आफ्नो सेनामा रहेका नेपालीहरु फिर्ता भएको कुरालाई हल्लाखल्लाको विषय नबनाइए हुन्थ्यो भन्ने रुसी अधिकारीहरुको चाहना हुने गरेको थियो। सैन्य मामिला, त्यसमाथि युद्धको समयमा यो मामिला संवेदनशील विषय हुने भएकाले स्वाभाविक पनि थियो।
‘२४ मे २०२४ मा रुसी सेनाको भर्ना सम्बन्धी निकायका उपप्रमुखले हाम्रा राजदूतलाई बोलाएर नेपालीहरुको भर्ती पूर्ण रुपमा रोकिएको र भर्ती भएका नेपालीहरुलाई क्रमशः बिदा दिन थालिएको जानकारी गराएका रहेछन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसयता दर्जनौँ नेपालीहरु रुसी सेनाबाट बिदा भएर स्वदेश फिर्ता भइसकेका छन्।’
स्वदेश फर्कने दुई माध्यम
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाका भनाइमा झण्डै डेढ सय नेपालीहरु रुसी सेनाबाट फिर्ता भएको जानकारी प्राप्त भएको छ। ‘उनीहरु फिर्ता हुन थालेको अलिक अगाडिदेखि नै हो,’ सल्लाहकार डा. सापकोटाले भने, ‘मस्कोस्थित नेपाली राजदूतावासको समन्वयमा उनीहरु फिर्ता भइरहेका छन्।’ नेपालले रुस सरकारलाई ३२१ जना नागरिकलाई रुसी सेनाबाट फिर्ता गरिदिन आग्रहसहितको सूची बुझाएको छ। त्यसमध्ये १ सय ३८ जना फिर्ता भइसकेका छन् भने ३ जना फिर्तीको प्रक्रियामा छन्।
तर, यो फिर्तीको आधिकारिक तथ्यांक मात्र हो। अनौपचारिक तवरमा फिर्ता भएका नेपालीहरुको संख्या जोड्ने हो भने अझ बढी हुने अधिकारीहरु बताउँछन्। रुसी सेनामा रहेका नेपालीहरु दुई माध्यममार्फत् स्वदेश फिर्ता भइरहेका छन्। एक, दूतावासमार्फत्। दुई, व्यक्तिगत तबरमा। जोसँग स्वदेश फर्कन आवश्यक पर्ने राहदानी लगायत आवश्यक कागजात छैनन्, उनीहरु दूतावासको सम्पर्कमा पुग्ने गरेका छन्। उनीहरुलाई दूतावासले ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्कन सहजीकरण गर्ने गरेको छ। रुसी सेनाबाट बिदावारी भई स्वदेश फर्केका १३८ र फर्कने तयारीमा रहेका तीन जना यिनैमध्येका हुन्।
तर, जोसँग पासपोर्ट लगायत आवश्यक कागजात छ, उनीहरु दूतावाससँग सम्पर्क नगरी स्वदेश फर्कने गरेका छन्। त्यही कारण उनीहरुको तथ्यांक दूतावास र काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा छैन। स्रोतका अनुसार आफ्नो सेनामा रहँदा युक्रेनसँगको युद्धमा मारिएका ६ जना नेपालीहरुको परिवारलाई क्षतिपूर्तिको प्रक्रियासमेत सुरु गरेको छ। उनीहरुमा सुरुवातमा मारिएका गोर्खाका सन्दीप थपलिया, पोखराका देवान राई लगायत छन्। रुसी सेनामा भर्ती भएका दर्जनौँ नेपालीको ज्यान गइसकेको छ।