जनकपुरधाम । जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्ति राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको भन्दै राजनीतिक दललगायतकाले सरकार र प्रशासन निकायको ध्यानाकर्षण गराएका छन् । करिब एक दर्जन नेता तथा नागरिक समाजका अगुवाहरूले प्रेस विज्ञप्ति जारी गर्दै जनताको सर्वोच्चता र संविधानको प्रस्तावनासहितको अपरिवर्तनीय प्रावधान विपरीत, अराजकता फैलाउने तत्वहरूमाथि सरकार र प्रशासनको कारवाहीको आभावले आउने दिनहरूमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरूको ध्यानाकर्षण गर्दै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदुर–किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई सक्रियताका साथ अग्रसर हुन अपील गरेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, नागरिक समाजका अगुवा रोशन जनकपुरी, नेकपा एकीकृत समाजवादी धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र पण्डित, नेकपा माओवादी केन्द्र धनुषाका नेता श्रीनारायण प्रतिहस्त, नेकपा एसका शीतल झा, तमलोपाका नेता तथा संविधानसभा सदस्य विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ चौधरी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का नेता सन्तोष यादव र तमलोपाका नेता रामजी रायले संयुक्तरूपमा जारी गरेका छन् ।
जारी विज्ञप्तिमा जनताको लामो संघर्ष र अमर सहिदहरूको बलिदानले सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्था र निरंकुश राजशाहीको अन्त्य गर्दै नेपालका जनताले संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध जाइलागेमा आफूहरू सचेततापूर्वक तयार रहेको भन्दै चेतावनीसमेत दिएका छन् ।

‘सहिदहरूको अमूल्य शहादत र जनताको निरन्तरको संघर्षले प्राप्त यस उपलब्धिको संरक्षण र सम्वद्र्धनको निमित्त गणतन्त्रवादीहरू कुनै पनि मूल्य चुकाउन सदैव तत्पर रहेको सबै प्रतिक्रान्तिवादी प्रतिक्रियावादीहरूलाई चेताउँदछौँ ।’ जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा राजतन्त्रको इतिहास आतातायी, छलफलपूर्ण आक्रमण, जीउज्यान, इज्जत र सर्वस्व हरण, नाक–कान काट्ने, व्यक्तिगत अनुचित कारणले राज्यको शक्ति बन्धक–बिक्री गर्ने, जनअधिकार र लोकतन्त्र खोस्ने, प्रतिगमन गर्ने, सत्तालिप्साको निमित्त मारकाट गरी वंश नै निर्मूल गर्ने र धर्मको आवरणमा सोझा–साझा जनसाधारणलाई धूर्ततापूर्ण ढंगले भ्रमित गरी निरंकुश राज गर्ने कुकृत्यले भरिएको इतिहास हो । यस्तो व्यवस्थाको वकालत गर्नेहरू कस्ता चरित्रका होलान् आफैँ स्पष्ट हुन्छ ।’