रौतहट । गत असार २८ गते पहिरोले त्रिशूलीमा बेपत्ता बससँगै मृत्यु भएका रौतहट जिल्लाको परोहा नगरपालिकाका तीन जनाका परिवारलाई नगर प्रमुख शेख वकीलले नगदसहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
यही असार २८ गते काठमाडौंबाट गौर आउँदै गरेको गणपति बसमा सवार रहेका परोहा नगरपालिकाका तीन जनाको परिवारलाई नगरपालिकाको तर्फबाट मेयर वकीलले राहतस्वरुप सहयोग उपलब्ध गराएको बताए ।
भरतपुर महानगरपालिका– २९ नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट गौर आउँदै गरेको गणपति डीलक्स त्रिशूली नदीमा खस्दा परोहा नगरपालिका– ४ लौकहा पोखरिया निवासी ओमराजकुमार साह, वडा नम्बर ६ बसन्तपट्टी निवासी ऋषिकुमार सिंह र वडा नम्बर ९ रामपुर खाप निवासी सिकिन्दर दासको मृत्यु भएकाले मृतकका परिवारलाई तत्काल नगदसहित खाद्यान्न सामग्री उपलब्ध गराइएको नगरप्रमुख वकीलले जानकारी दिए ।
बस दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिवारलाई जनही ११ हजार नगद, ५० हजारको चेक तथा खाद्यान्न सामग्री दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफूज आलमले जानकारी दिए । राहत सामग्री चेक तथा नगद हस्तान्तरण गर्ने क्रममा नगरप्रमुख शेख वकील, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर दीपेन्द्र यादव, वडाध्यक्ष जवाहर प्रसाद यादव, बिलाश पटेल, कफील अंजुम, लेखापाल शिवपूजन मण्डलको सहभागीता रहेको थियो ।
उनीहरुले बस दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोजी कार्यलाई निरन्तरता दिन सरकारसँग मागसमेत गरेका छन् । मृतकका परिवारलाइ क्षतिपूर्ति समेत उपलब्ध गराउन नेपाल सरकारसँग उनीहरुको माग छ ।