वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवद्र्धन गरिने बताएका छन् ।
उद्योग मन्त्रालयमा बिहीवार आयोजित घरेलु मदिरा प्रवद्र्धन विषयक छलफलमा मन्त्री रिजालले ठूला उद्योगी हाबी नहुने गरी साना तथा घरेलु उद्योगको रूपमा घरेलु मदिराको बिक्री प्रवद्र्धनको व्यवस्था मिलाइने बताए । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर निर्धारण गरी बिक्री प्रवद्र्धनको व्यवस्था मिलाइने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवद्र्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनले बताए । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको उनले बताए । आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवद्र्धनसम्बन्धी ‘रोड म्याप’समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पु-याउनुपर्ने बताए । कानूनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवद्र्धनका लागि स्पष्ट कानूनी संवेदनशीलता हुनुपर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मुख्य सचिवहरूको सहभागिता थियो ।