मोरङ- मोरङको बेलबारीस्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध भेटिएका छन् । उमेरले ७० काटिसकेका ती ७० वर्षीय वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती ७० वर्षीय वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले गरेका छन् ।
बेलबारीस्थित जनप्रतिनिधिहरूका अनुसार उनलाई जेठा छोराबुहारीले चार दिनअघि उक्त जंगलमा लगेर छाडेको बताएका छन् ।
जंगलको बीचमा छाडिएका उनलाई हात्तीको निगरानी गर्न पुगेको उक्त वनको गस्टी टोलीले भेट्टाएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई मंगलबार नै उद्धार गरेर बेलबारीको नगर अस्पतालमा भर्ना गरिएको वडा नम्बर ७ की अध्यक्ष सुनिता चौधरीले बताइन् ।
यो घटना बेलबारीस्थित चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले बाहिर ल्याएका हुन् । उनले यी वृद्धको फोटोसहितको विवरण सामाजिक सञ्जालमा राखेका छन् ।
गिरीले भने झागडलाई उनका छोराबुहारीले नै जंगलको बीचमा लगेर छाडेको दाबी गरेका छन् ।
अहिले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ। गिरीले उक्त जंगलको बीचमा एक्लै जोकोही पुग्न नसक्ने बताए ।
चौधरीका अनुसार यी वृद्धका दुई भाइ छोरा छन् । जसमध्ये कान्छा भारतको पञ्जाबमा बस्दै आएका छन् । बुवा जंगलमा वेवारिस भेटिएपछि उनलाई बोलाइसकिएको चौधरीले बताइन्। उनी भारतबाट हिँडिसकेको उनले जानकारी दिइन् ।
तर बुवालाई जंगलमा फ्याँकेको आरोप लागेका जेठा छोरा भने गायब भएका छन् । बेलाबारीस्थित प्रहरीले सुन्दरहरैँचास्थित प्रहरीसँगको समन्वयमा जेठा छोराबुहारीको खोजी गरिरहे पनि भेट्टाएको छैन ।