बिमाको रकम लिन आफ्नै पसलमा आगजनी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पसल सञ्चालक पोखरा महानगरपालिका– १७ ड्यामसाइड बस्ने वर्ष ३६ का सुजन गहतराज र पोखरा– १७ बिरौटा बस्ने वर्ष ४३ का पवन नेपाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
पोखरा– ६ नारेश्वरचोकस्थित डा. थानेश्वर पहारीको घर भाडा लिई सुजनले मुक्तिनाथ सपिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । पसलमा १६ साउनको बिहान २ः१० बजे आगलागी भएको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याएका थिए । घटनापछि सञ्चालक सुजनले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफूले पसलमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भई आगो लागेको बताएका थिए । त्यसपछि प्रहरी टोलीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझेको थियो ।
इन्भर्टरबाट आगो नलाग्ने, बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफ पाएपछि प्रहरीले विद्युत् प्राधिकरणसँग जानकारी मागेको थियो । विद्युत्बाट पनि कुनै कैफियत नरहेको भन्ने जवाफ प्रहरीले प्राप्त गरेको थियो । अनुसन्धानका क्रममा पसलमा आगो लागेको एक महिनाअघि २५ असारमा सुजनले हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट पसलको दुई करोड १० लाखबराबरको बिमा गरेको पाइयो । आगो लागेको भोलिपल्ट १७ साउनमा उनले सपिङ सेन्टरमा आगो लागेको विषयमा थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए । सोही दिन उनले बिमा दाबीका लागि इन्स्योरेन्स कम्पनीमा निवेदनसमेत दिएको खुलेको छ ।
प्रहरीका अनुसार आफ्नो साथी पवन नेपालको सहयोगमा सुजनले पसलमा आगो लगाएको तथ्य खुलेको छ । पसलमा आगो लगाउने पूर्वयोजना बनाएका उनले आफ्नो ग.३च ६२६६ नम्बरको गाडीमा स्प्रिटको ग्यालेन राखेका थिए । १६ साउन राति ११ बजे उनले पवन नेपाललाई बोलाएर ड्यामसाइडस्थित फेवा झिर रेस्टुरेन्टमा पाँच बोतल बियर पिएका थिए । त्यसपछि दुवैजना गाडीमा पसलमा पुग्छन् ।
१०–१५ मिनेटपछि बाहिर निस्किएर सुजन सटर लगाई हतार–हतार गाडी चढी तालबाराही स्कुलतर्फ लाग्छन् । नेपाल भने पसलको बाहिरपट्टि बसेका हुन्छन् ।सुजन पसलबाट हिँडेको करिब केही क्षणमै बाहिर बसेका नेपालले सलाई बाली आगो सल्काई सुजनको गाडीको पछि–पछि कुदेको उनीहरूले प्रहरीलाई बताएको प्रमुख थापाले जानकारी दिए ।
प्रहरीका अनुसार सुजनले बिमाको रकमका लागि पवन नेपालसँग मिली योजना बनाई आगो लगाएको साबिती भनाइ र नेपालले गत वर्ष आफूले सञ्चालन गरेको पोल्ट्री फार्ममा आगो लागेपछि इन्स्योरेन्स कम्पनीबाट ३१ लाख पाएको बताएको उनको भनाइ छ । पक्राउ परेका दुवैजनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट आइतबार सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।