रौतहट- प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय सुरक्षित प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएको छ । पहिला भन्दा अहिले अस्पतालको सेवा सुविधामा सुधारका साथै निःशुल्क सुरक्षित प्रसुति गराउने गरिएका कारण जिल्लाको विभिन्न पालिकाबाट प्रादेशिक अस्पतालमै गएर सुत्केरी हुनेको संख्यामा वृद्धि भएको हो ।
गत वर्षको तुलनामा यो वर्ष प्रादेशिक अस्पताल गौरमा सुरक्षित रुपमा बच्चा जन्माउने महिलाको संख्या अत्याधिक बढेको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताए ।
अहिले दैनिकजसो २५ देखी ३० जनासम्म महिला यस अस्पतालमा बच्चा जन्माउने गरेको अध्यक्ष हाशमीले बताए । साउन १६ गते मात्र १८ जना महिलाले विना अप्रेशन अर्थात नर्मल अवस्थामा नै बच्चा जन्माएकी छन् भने ७ जना महिलालाई शल्यक्रिया गरी सफलतापूर्वक सुत्केरी गराइएको उनको भनाइ छ ।
प्रसूति गराउने अनुभवी तथा दक्ष चिकित्सक र अन्य सेवा सुविधा तथा उपकरणको राम्रो व्यवस्था गरिएकोले पछिल्लो समय प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्या बढेको अध्यक्ष हाशमीको भनाई छ ।
अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरूका कारण सबैतिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए ।
डा. ठाकुरका अनुसार प्रसूति कक्षमा १४ जना भन्दा बढी नर्सिङ कर्मचारी रहेको र उनीहरू चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् । अस्पतालमा ३ जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए ।
अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरको भनाइ छ ।
निजी अस्पतालमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । तर सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले निजी भन्दा यस प्रादेशिक अस्पतालमा बच्चा जन्माउने आमाको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइएको छ ।
तर प्रादेशिक अस्पताल गौरमा निःशुल्क रुपमै सुत्केरी गराउन पाइने र यसरी निशुल्क प्रसुति गराउन पाउँदा ठुलो रकम खर्च हुनबाट पनि जोगिने भएको हुँदा प्रादेशिक अस्पताल गौरमा बच्चा जन्माउने महिलाको संख्यामा वृद्धि भएको छ ।
निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न ६० देखी एक लाखसम्मको हाराहारीमा खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्र पछिसम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।