बर्दीबास, साउन २१ गते । सडक मानव आश्रमका लागि ‘हाम्रो मायाको घर’ निर्माण गर्न बर्दीबासमा आज सोमबारदेखि २९ गतेसम्म शिवपुराण महायज्ञ हुदैँ छ । महायज्ञकाे तयारीसँगै बर्दीबासमा धार्मिक चहलपहल सुरु भएको छ ।
आयोजक शिवपुराण महायज्ञ मूल समितिका अध्यक्ष हिरा गौतमका अनुसार श्रावण शुक्ल प्रतिपदाको शुभसाइतमा सुरू भएकाे शिवपुराण महायज्ञमा आज बिहान एक हजारभन्दा बढी कन्याको सहभागितामा कलशयात्राको आयोजना गरिएकाे थियो।
महायज्ञकी प्रमुख आकर्षण एवं परिकल्पनाकार भागवत मञ्जरी राधिका दासी आफ्ना धार्मिक टोलीसाथ आइतबार यहाँ आई पुगेकी छिन । महायज्ञका लागि बर्दीबास–१ मा भव्य पण्डाल लगाइएको छ भने हिजाे आइतबार बिहान पुराणप्रति आस्था जगाउने सामग्रीसहित जिप, अटोरिक्सा, ट्याम्पो गरी करिब दुई सय सवारीले नगर क्षेत्रमा धर्मयात्रा निकालेका थिए ।
महायज्ञलाई व्यवस्थापन गर्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको ‘हाम्रो मायाको घर’ सञ्चालनका लागि गठित समितिका अध्यक्ष कृष्ण गौतमले जनाए । त्यसमध्ये आर्थिक, प्रचारप्रसार र बोर्ड संयोजक गरी तीन उपसमिति क्रियाशील छन् । महायज्ञमा एक लाखभन्दा बढी दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छ ।
त्यस्तै आवश्यकता अनुसार स्वयंसेवक, भोजन व्यवस्थापनलगायतका समिति पनि सक्रिय हुँदै जाने उनले बताए ।
यहाँ पहिलो पटक आयोजना हुन लागेको महायज्ञप्रति पेसाकर्मी पनि उदार देखिएका छन् ।
होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले पुराणमा सहभागी हुन आउने दर्शनार्थीका लागि भोजनमा १५ प्रतिशत तथा आवास (लजिङ) मा २५ प्रतिशत छुटको घोषणा गरेको छ । यसबाहेक आयोजकलाई सचिवालय उपलब्ध गराउनुका साथै पुराणमा सहभागी हुन आएका करिब ३० जनाको धार्मिक सांस्कृतिक टोलीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको सङ्घका उपसचिव नारायण घिमिरेले बताए ।
अर्कोतर्फ महायज्ञमा सहभागी हुन आउने धर्मपरायण नरनारीका लागि बर्दीबासस्थित यातायात व्यवसायी सङ््घले प्रचलित भाडादरमा ३० प्रतिशत छुटको घोषणा गरेको छ ।
महायज्ञमा सहभागी हुन आउने दर्शनार्थीको सहजताका लागि मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले दुई थान घुम्ती शौचालय हस्तान्तरण गरेको छ । ‘हाम्रो मायाको घर’ का लागि १५ जना दाताले बर्दीबास–२ मा करिब डेढ करोड रुपियाँ बराबरको साढे पाँच कट्ठा जग्गा दान दिएपछि यसको निर्माण प्रव्रिmया सुरु भइसकेको छ । बाहिरी पर्खाल निर्माणको काम सकिएको छ । दुईतले र अढाईतले गरी दुई वटा भवनको डिपिआर पनि तयार छ ।
दुवै भवन निर्माणका लागि आवश्यक ११ करोड रुपियाँको स्रोत जुटाउने पहिलो अभियानको थालनी महायज्ञबाट गर्न लागिएको हो । महायज्ञ सुरु हुनुअघिदेखि नै धमाधम सहयोगको घोषणा हुन थालेकाले आयोजकलाई आशावादी बनाएको छ । महायज्ञको दानदातव्यबाट सवा करोडदेखि डेढ करोड रुपियाँसम्म जुट्ने महायज्ञ मूल समितिको विश्वास छ । थप सहयोग सङ्घ, प्रदेश र स्थानीय सरकारबाट जुटाउन प्रयास गरिने समितिले जनाएको छ । महायज्ञ आयोजनामा करिब २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।