बारा। साढे आठ किलो लागुऔषध गाँजा सहित प्रहरीले बाराको पथलैया जंगलबाट एक महिलालाई नियन्त्रणमा लिएको छ ।
आइतबार जीतपुर सिमरा उप-महानगर-१ आधाभारमा पिठयूमा कालो झोला बोकेर सडक छेउमा उभिरहेकी ती महिलाको साथबाट गाँजा बरामद भएको हो ।
प्रहरी चौकी पथलैया बाराबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले उनले बोकेको झोला चेक गर्दा उक्त झोलाभित्र आठ किलो गाँजा बरामद भएको हो ।
गाँजा भेटिपछि झोला बोक्ने महिला बर्दीया मधुवन नगरपालिका-७ बस्ने सागर तामाङको श्रीमती अन्दाजी २५ वर्षकी प्रियंका श्रेष्ठलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
नेपालको कानुनले गाँजाको खेती, उत्पादन, तयारी, खरिदविक्री वितरण, निकासी वा पैठारी, ओसारपसार वा सञ्चय गर्न र सेवन गर्न निषेध गरेको छ ।
लागूऔषध नियन्त्रण गर्न २०३३ सालमा बनेर समयअनुसार परिमार्जन र संसोधन हुँदै आएको ‘लागू औषध (नियन्त्रण) ऐन, २०३३’ ले गाँजाको परिमाण अनुसार यसमा संलग्न उपर विभिन्न कैद सजाय र जरिवाना तोकेको छ ।
उक्त ऐनका अनुसार दुई देखि १० किलो गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई एकवर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना तोकेको छ ।