साउन महिनामा भगवान् शिव प्रसन्न मुडमा रहन्छन् । यो महिनामा भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्नाले जीवनका सबै दुःख–कष्टहरू हटेर बान्छित फल प्राप्त हुन्छ । भगवान् शिवको यो महिनामा चारैतिर भक्तिको वातावरण र सकारात्मक उर्जा प्रवाह हुन्छ । वास्तुशास्त्रमा साउन महिनाका लागि केही विशेष उपाय बताइएका छन् ।
वास्तुका यी उपाय अपनाए शिवभक्तिको फल दोब्बर हुन्छ र सौभाग्य पनि बढ्छ । यसका साथै वास्तुमा भगवान् शिवको पूजाका लागि केही कुराको विशेष ख्याल गर्न पनि भनिएको छ । हेरौं साउनमा गर्नै पर्ने वास्तु उपाय !
शिवलिङ्गको दिशा
साउन महिनामा घरको उत्तरपूर्वी कुनामा शिवलिङ स्थापना गर्नुपर्छ । यो दिशा देवी-देवताको दिशा भएकाले सबैभन्दा शुभ मानिन्छ । घरको उत्तरपूर्वी कुनामा भगवान् शिवको पूजा गर्नाले घरमा सुख-समृद्धिको वास हुन्छ र सकारात्मक उर्जा कायम रहन्छ । यसका साथै साउनमा हरेक दिन घरलाई पूर्णरुपमा सफा राख्ने प्रयास गर्नुपर्छ । साउनमा घरलाई फोहोर राख्नाले घरका सदस्यहरूको प्रगति रोकिन्छ त्यसैले पनि साउन महिनामा घरलाई दिनहुँ राम्रोसँग सफा गर्नुपर्छ ।
मुख्य द्वारमा शुभ चिन्ह
साउन महिनामा हरेक दिन मुख्यद्वारमा गंगा जल छर्किनु उपयुक्त हुन्छ भने ढोकामा स्वस्तिक चिन्ह बनाउन सकिन्छ । त्यससपछि मुख्य द्वारको दुवै छेउमा घिउको दियो बाल्ने अनि शिवलिङ्गको पूजा गर्ने । वास्तुको यो उपाय अपनाउँदा घरमा समृद्धिले वास गर्छ भने सकारात्मक उर्जा आकर्षित हुन्छ ।
धनको आगमनका लागि
भगवान् शिवले हात र घाँटीमा रुद्राक्ष धारण गरेका छन् । वास्तुअनुसार शिवलिङ्गको पूजा गर्नुअघि रुद्राक्षलाई शिवलिङ्गको नजिक राखेर जलाभिषेक गरी अनुष्ठान गर्नुपर्छ । पूजा गरिसकेपछि शिवलिङ्गको नजिकबाट रुद्राक्ष उठाएर रातो कपडामा बाँधी ढुकुटी वा आलमारीमा राख्ने वा घरको मुख्य ढोकामा बाँध्ने । यो उपाय अपनाउँदा घरमा धन र अन्नको कमी हुँदैन भने धन आगमनको सम्भावना वृद्धि हुन्छ ।
भाग्य वृद्धिका लागि
घरमा तुलसीको बिरुवा राख्नाले सुख, शान्ति र सकारात्मक उर्जा वृद्धि हुन्छ । साउन महिनामा घरमा तुलसीको बोट लगाउनु निकै शुभ मानिन्छ । घरको उत्तर र पूर्व दिशामा तुलसीको बोट रोपेर दिनहुँ पूजा गर्नाले सौभाग्य बढ्छ । शिव पूजामा तुलसीको प्रयोग भने गर्नुहुँदैन । तुलसीको पूजा बिहान र बेलुका मात्र गर्नुपर्छ ।
भगवान् शिवको आशीर्वादका लागि
साउन महिनामा तुलसी बाहेक बेलपत्रको बिरुवा उत्तर(पूर्व दिशामा रोप्नु निकै शुभ मानिन्छ । शिव पुराणमा भनिएको छ – बेलपत्रको बिरुवा रोप्दा त्यो स्थान काशी जस्तै पवित्र हुन्छ र गरिबी हट्छ । साउनमा हरेक दिन बेलको बिरुवामा पानी हालेर पूजा गर्नाले भगवान शिवसँगै माता लक्ष्मीको आशीर्वाद समेत प्राप्त हुन्छ ।