जनकपुर । राम जानकी मन्दिर सहित जनकपुर धाममा बुधबारदेखि झुलनोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म चल्ने छ ।
विशेष गरीमा झुलनोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई बुधबार साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले जानकारी दिए । यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको उनले बताए । यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ ।
एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने परम्परा रहेको छ । रत्नसागर मन्दिरको झुलानाच सबैभन्दा बढी प्रसिद्ध रहेको छ । झुला र नाच हेर्न मन्दिरमा भक्तजनको साँझ पर्नेबित्तिकै घुइँचो लाग्ने गरिन्छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ । जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराएको देखिन्छ । “सुरकिशोरको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भई विभिन्न उत्सवहरुको सुरुवात भएको थियो । सुरकिशोरले माता जानकीलाई पुत्री मान्दथे । वहाँले कहिलेकाहीँ जानकीसँग कुराकानी गर्ने गरेको र माता जानकीको सल्लाहमा आदी महन्त सुरुकिशोरले यस उत्सवको प्रारम्भ गरेको धार्मिक विश्वास रहेको छ”, जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले बताए ।
सन्त सम्प्रदायको गढ मानिने अयोध्याधाम र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको छ । साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारीमुनि बास बसेर पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् । झुलाको आकर्षण मिथिलाञ्चलमा धानको रोपाइँ समाप्त हुनासाथ सुरु हुन्छ । यस क्रममा हरेक मठमन्दिरमा कजरी र मलार जस्ता धार्मिक महत्व झल्किने गीत कर्णप्रिय आवाजमा सुनिन्छन् ।
झुल्नोत्सवमा युवती सबै झुलाको गीत गाउने र भगवानको पूजाअर्चना गरेपछि श्रद्धालु भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा रहेको संस्कृतिका जानकार डा.राजेन्द्र विमलले बताए । मिथिलाञ्चलको मठमन्दिरमा साउन महिनाभर झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटेर विधिवत् रुपमा सम्पन्न गरिँदै आइएको उहाँले जानकारी दिए ।
जनकपुरधामसहित मिथिला क्षेत्रको हरेक मठमन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर र राममन्दिरको झुला विशेष आकर्षणको केन्द्रविन्दु रहँदै आएको संस्कृतिका जानकार रोशन जनकपुरीले बताए । उनका अनुसार जानकी मन्दिरमा विशेष किसिमका तीन वटा सिंहासनमा सीता र रामको मूर्ति राखेर झुलामा झुलाइने धार्मिक परम्परा रहँदै आएको छ । “जनश्रुतिअनुसार सीताको माइतीमा दाइजोका रुपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड भएको थियो । त्यसैको स्मृतिस्वरुप झुला उत्सवको प्रारम्भमा मणिपर्वत मनाउने परम्परा छ”, जनकपुरीले भने ।
त्रेतायुगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहार स्वरुप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रंगभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि मनाइँदै आएको धार्मिक विश्वास छ ।