विशेष गरी नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) का दिन घर, कुवा, इनार, मन्दिरमा गई नाग–नागिनीको पूजा गर्ने गरिन्छ । यस दिन घरको मूल ढोकामा नाग–नागिनी, विच्छी, माकुरा, माच्छा, गंगटा, चन्द्र, सूर्य लगायत अंकित फोटो टाँसेर पूजा गर्ने चलन छ ।
अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने अनि आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहीआएको छ । विषालु जीवजन्तुबाट हानि नहोस्, पानीको अभाव नहोस् भनेर पनि नागपूजा गर्ने गरिएको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नामक आठ वटा नागको पूजा गरिन्छ । यी नागहरूले वायुमा रहेको विषलाई खाने गरेकाले वातावरण शुद्ध रहन्छ । यस कुरालाई वैज्ञानिकहरूले पनि पुष्टि गरेका छन् ।
नाग पञ्चमीको महिमा महाभारतसँग जोडिएको पाइएको छ । अर्जुनका नाति (अभिमन्युका छोरा) राजा परीक्षितलाई तक्षक नागले डस्दा उनको मृत्यु हुन्छ । यस घटनाबाट परीक्षितका छोरा जनमेजय नाग प्रजातिसँग रिसाउँछन् । उनले नागजातिलाई नै नष्ट गर्न महायज्ञ गर्दछन् । जसको प्रभावले सबै नाग एक–एक गरी हवनकुण्डमा आई आफैं मर्छन् ।
उक्त यज्ञ यति शक्तिशाली हुन्छ कि मृत्युको भयले स्वर्गका राजा इन्द्रको सिंहासनमा बेरिएर लुकेको तक्षक नाग इन्द्रासनसहित खिचिएर अग्निकुण्डमा होमिन्छ । यो देखेर नागजातिको रक्षाका लागि भगवान् शिवकी पुत्री मनसादेवीसँग देवताहरू पुकार गर्दछन् । तत्पश्चात् उनले आफ्नो पुत्र अस्तिकलाई यज्ञ रोक्न पठाउँछिन् । आस्तिकले जनमेजयको रिस शान्त पारेपछि यज्ञ रोकिन्छ । तत्पश्चात् श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने गरिएको किंवदन्ति छ ।
त्यस्तै, एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा मारिदिन्छन् । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानलाई तत्काल मारिदिन्छिन् । त्ति गर्दा पनि रिस नमेरेपछि नागिनीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिन्छिन् ।
किसानकी छोरी भने घरबाहिर हुन्छिन् । उनलाई पनि नागिनीले खोज्दै जाँदा बाटोमा फेला पारेर मार्न खोज्छिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरेर नमार्न आग्रह गर्छिन् । पूजाआजा गर्ने वचन दिन्छिन् । मृत्युको मुखबाट बाँचेकी किसानकी छोरीले नागिनीलाई सोह्र प्रकारले पूजाआजा गरेर दूध खान दिन्छिन् । पूजाबाट खुसी भएकी नागिनीले के वर चाहन्छौ माग भनेपछि उनले मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर माग्छिन् । खुसी भएकी नागिनीले किसानका सबै परिवारलाई बचाइदिन्छिन् ।
श्रावण शुक्ल पञ्चमी दिन किसानको परिवारलाई नातिनीले बचाइदिएकाले प्रत्येक वर्ष यसै दिन ब्राह्मण, पुरोहित वा आफैंले नागपूजा गरी घरको मूल ढोकामा नाग टास्ने परम्परा चलिआएको जनविश्वास छ ।
नागको शीर कुन महिनामा कुन दिशामा हुन्छ
भदौ, असोज, कात्तिक – पूर्व दिशा
मंसिर, पुस, माघ – दक्षिण दिशा
फागुन, चैत, वैशाख – पश्चिम दिशा
जेठ, असार, साउन – उत्तर दिशा
नागको पूजा कसरी गर्ने
नुहाएर, शुद्ध कपडा लगाउने ।
सुन, चाँदी, तामा, चामलको पीठो वा गाईको गोबर आदि (जे वस्तुले सकिन्छ त्यसैको) ले नाग–नागिनीको प्रतीमा बनाउने ।
जोडी नाग बनाएर पूजा गर्नुपर्छ ।
पुच्छरमा पूजा गर्ने ।
नागको शीर जुन दिशामा छ त्यतैतिर फर्केर गर्ने ।
अथवा नागको शीरलाई दाहिना बनाएर पूजा गर्ने ।
नागपूजा गर्ने सामग्री
श्रीखण्ड चन्दन, दही, काँचो गाईको दूध, दही, घ्यू, दुबो, सेतो वा पहेंलो फूल, धूप, बत्ती, खीर, कपडा (सेतो वा पहेंला) आदि ।
नागपूजा गर्दा के नगर्ने
जुठो–सुतकमा पूजा गर्न हुँदैन ।
एउटा मात्र नागको मात्र पूजा गर्न हुँदैन ।
पूजा गर्दा शीरमा गर्न हुँदैन ।
तातो वस्तु चढाउन हुँदैन ।
रजश्वला भएको सात दिनअघि सम्म पूजा नगर्ने ।
घरभित्र नाग टाँस्न हुँदैन ।