नवजात शिशुको गर्भनाल थुप्रै रोगको उपचारमा प्रयोग हुने डा. विपिन नेपाल बताउँछन् । उनी ग्रान्डी अस्पतालका रक्तसंचार विशेषज्ञ हुन् ।
डा. नेपाल भन्छन्, ‘वंशानुगतदेखि रक्त विकारसम्मको अनेकन रोगमा गर्भनालको रगत उपयोग हुँदै आएको छ ।’ गर्भनालको रगतलाई ‘हेमाटोपोइटिक स्टेम सेल’ अर्थात मूल जनक कोषिका भनिन्छ । यो कोषिका (स्टेम सेल)बाट रातो रक्तकोष र सेतो रक्तकोष विकास गर्न सकिन्छ ।
बिबिसीमा प्रकासित एक रिपोर्ट अनुसार भण्डारण गरिएका स्टेम सेल प्रत्यारोपण गरेर हजारौंको ज्यान बचाइएको छ । स्टेम सेलले सम्बन्धित बच्चाको मात्र नभई उनका परिवारका सदस्यलाई पनि उपचार गर्न सकिन्छ ।
कान्ति बाल अस्पतालका हेमाटोलोजिस्ट डा. सुधीर सापकोटा भन्छन्, ‘शिशु जन्मनसाथ विशेषज्ञ चिकित्सकले गर्भनालभित्रको रगत निकालेर सुरक्षित राख्न सक्छन् । पछि कुनैपनि गंभिर रोगमा यसभित्रको कोषिकालाई प्रत्यारोपण गर्न सकिन्छ ।’
गर्भनालको रगत (कर्ड ब्लड) भण्डारण गर्नु एकदमै लाभदायक हुने उनी बताउँछन् । ‘जुन शिशुको गर्भनाल हो, पछि उनलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएमा सहज हुन्छ’ डा. सापकोटा भन्छन् ।
के हो गर्भनालमा पाइने स्टेम सेल ?
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. किर्तिपाल सुवेदी भन्छन्, ‘गर्भवस्थामा गर्भनाल प्लेसेन्टा पाठेघरमा विकसित हुने अंग हो । यो पाठेघरको भित्तामा टाँसिएर हुन्छ । गर्भावस्थामा शिशुले त्यही प्लेसेन्टा नालबाट रगत, अक्सिजन र पोषण तत्व प्राप्त गर्छ ।’
गर्भनालको रगतमा स्टेम सेल हुन्छ । एक रक्त कोषिकाले हाम्रो शरीरमा तीनदेखि चार लिटरसम्म रगत बनाउँछ । जबकि गर्भनाल ब्लड स्टेम सेलले भरिएको हुन्छ ।
जब शिशु जन्मन्छ, उक्त गर्भनाल काटिन्छ । गर्भनालमा पाइने रगतबाट बच्चाको रक्त समूह, वंशानुगत वा जन्मजात रोग छ वा छैन, गर्भभित्र रहँदा कुनै सक्रमण भएको छ वा छैन थाहा पाउने गरिन्छ ।
के कस्ता रोगमा उपयोग ?
अहिले चिकित्सा विज्ञानमा गर्भनालको स्टेम सेललाई लिएर विभिन्न अध्ययन भएका छन् । त्यसबाट के निचोड निकालिएको छ भने, यो स्टेम सेल कति प्रकारका क्यान्सर, हृदयरोग, स्नायुरोग, मेटाबोलिक, वंशानुगत रोग निको बनाउनमा उपयोगी छ ।
रोग प्रतिरोधी प्रणाली विकास गर्न, दुर्बलता घटाउनका साथै दुर्लभ आनुवांशिक रोगहरु उपचार संभव भएको विज्ञहरुको दावी छ ।
कसरी भण्डारण गरिन्छ कर्ड ब्लड ?
शिशु जन्मिएपछि उक्त गर्भनालको रगत र त्यसमा रहेको स्टिम सेल एकत्रित गरेर भण्डारण गर्न गरिन्छ । स्टिम सेल भण्डारण गर्नुलाई ‘कर्ड ब्लड बैंकिङ’ भनिन्छ । निजी र सरकारी दुबै तवरबाट विश्वका थुप्रै मुलुकमा गर्भनालमा रहेको स्टेम सेल भण्डारण गरिदै आएको छ ।
‘विश्वमा यसको अभ्यास र अध्ययन भइरहेको छ’ डा. नेपाल भन्छन्, ‘तर, नेपालमा अहिलेसम्म यसको भण्डारण गर्ने संयन्त्र बनाइएको छैन ।’ यसको भण्डारण गर्नका लागि विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरण जरुरी हुने भएकाले नेपालमा कर्ड ब्लड बैंकिङ प्रणाली अभ्यास नगरिएको हुनसक्ने डा. नेपाल बताउँछन् ।
नेपालमा गर्भनाल संकलन
नेपालमा कर्ड ब्लड भण्डारण गर्ने व्यवस्था नभएपनि विभिन्न एजेन्सीले संकलन भने गरिरहेको बताइन्छ । नेपाल प्रहरी अस्पतालका एनेस्थेसिया विशेषज्ञ डा. छन्द बुढाथोकी भन्छिन्, ‘कर्ड ब्लड संकलन गरेर भारतमा भण्डारण गरिरहेको पाइन्छ ।’
कर्ड ब्लड संकलन एउटा लामो र निकै उन्नत प्रक्रिया भएकाले यसका लागि सरकारी तवरबाटै प्रयास हुनुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘यो निकै खर्चिलो प्रक्रिया हो । त्यसैले जरुरत भएर पनि कर्ड ब्लड बैंक स्थापना गर्न नसकिएको हुनसक्छ ।’