पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २१५ जनाको मृत्यु भएको छ। जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ।
पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि सुरु भएको मनसुनमा घाइतेको संख्या ४०५ पुगेको एनडिएमएले जनाएको छ।
सिजनभर मृतकहरूमा १०८ बालबालिका र ३२ महिलाहरू समावेश छन्। पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो। त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको थियो।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ।
एनडिएमएले उल्लेखित अवधिमा ४४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ।
आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।
सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १०२ जनाले उपचार वा राहत पाएको जनाएको छ। मनसुन सिजन दक्षिण एसियाली देशमा सेप्टेम्बरसम्म चल्छ।
-सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री