काठमाडौं । बुधबार चर्चित फुटबलर क्रिश्चियानो रोनाल्डोले आफ्नो करियरकै नयाँ कदम चाले । फुटबलमा दुई दशक बढी बिताइसकेका यी महान् खेलाडीले अन्ततः कन्टेन्ट क्रियटरका रूपमा युट्युबमा सक्रिय हुने सङ्कल्प गरे । र, बुधबारदेखि युट्युबमा एकै पटक १८ ओटा भिडिओ राखेर नयाँ परियोजनाका रूपमा उनले ‘योर क्रिश्चियानो’ युट्युब च्यानल सञ्चालनमा ल्याए ।
उनले फेसबुक, इन्स्टाग्राम र एक्स अकाउन्टबाट युट्युब च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । त्यसको २२ मिनेटमै उनको च्यानलमा एक लाख सब्सक्राइबर पुगे । यससँगै यो च्यानल सबैभन्दा कम समयमा एक लाख सब्सक्राइबरको आँकडा पार गर्ने च्यानल बन्यो ।
त्यस्को ९० मिनेटमै उनको च्यानलमा १० लाख बढी सब्सक्राइबर पुगे । सबैभन्दा कम समयमा १० लाख सब्सक्राइबरको आँकडा पार गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा आयो ।
त्यसबाहेक ४७ मिनेटको अवधिमा १० लाख सब्सक्राइबर पाएर यस च्यानलले अर्को रेकर्ड पनि राखेको छ ।
त्यस्तै एक घण्टामा १२ लाख ७० हजार सब्सक्राइबर पाएर रोनाल्डो एक घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युबर बनेका छन् ।
त्यति मात्र नभइ 'योर क्रिश्चियानो' यस्तो च्यानल हो, जसले १२ घण्टाभन्दा कम समयमा एक करोड बढी सब्सक्राइबरको आँकडा पार गरेको छ । यससँगै १२ घण्टामै एउटा युट्युब च्यानलमा एक करोड बढी सब्सक्राइबर आएको यो पहिलो च्यानल हो । यही रफ्तारमा सब्सक्राइबर बढ्ने हो भने यो रेकर्ड रोनाल्डो आफैले तोड्न सक्छन् ।
अहिलेसम्म सब्सक्राइबरको रेकर्ड मात्र रोनाल्डोको नाममा आएको छ । युट्युब भिडिओमा आउने भ्युज, लाइक, डिस्लाइक जस्ता विषयको रेकर्ड भने उनको नाममा आइसकेको छैन । तर, निकट भविष्यमा यी विषयको रेकर्ड उनको नाममा नआउला भन्न सकिंदैन ।
सामाजिक सञ्जालका सबै प्लेटफर्ममा उनका ९० करोडभन्दा बढी फलोअर छन् । सामाजिक सञ्जाल एक्समा ११ करोड २० लाख फलोअर, फेसबुकमा १७ करोड र इन्स्टाग्राममा ६३ करोड ६० लाख बढी फलोअरका साथ सबैभन्दा बढी फलोअर हुने व्यक्तिका रूपमा रहेका छन् ।
यसअघि सात दिनमा एक करोड सब्सक्राइबरको आँकडा युट्युबर हेमस्टर कम्ब्याटले राखेका थियो । उक्त रेकर्ड रोनाल्डोले सबैभन्दा कम समय अर्थात १२ घण्टामै तोडेका हुन् ।
यो समाचार तयार पार्दासम्म रोनाल्डोको युट्युब च्यानलमा एक करोड ४३ लाख सब्सक्राइबर पुगेका छन् ।