वारा– स्थानीय प्रशासन र नापतौल विभागका कर्मचारीको कमजोरीले बारा र पर्साका किसान रौतहटको डुमरिया स्थित बाबा बैजुनाथ चिनीमिलद्वारा ठगिने क्रम जारीरहेको खुलासा भएको छ ।
बाबा बैजुनाथ चिनीमिलले तौलमा गरीरहेको गडबडीको समाचार संकलन गर्न पुगेका पत्रकारलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि ठगीको घटना बाहिर आएको हो ।
उक्त चिनीमिलले तौलमा गरीरहेको ठगीबाट बारा/पर्साका उखु किसानलाई जोगाउन रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालि श्रीपुर बाराले स्थानीय प्रशासनसंग आग्रह गरेको समेत छ ।
उखु ढुवानी गर्ने चालक तथा ट्रेक्टरधनीलाई आर्थिक प्रलोभनमा पारी बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईण्डट्रिज प्रालि कटहरिया ९ डुमरियाले बारा र पर्साका उखु किसानलाई ठगीरहेको आरोप रिलायन्स सुगर मिलले लगाएको छ ।
बाबा बैजुनाथका व्यवस्थापकले ठुलो संख्यामा बिचौलियाहरु बारा र पर्सामा परिचालन गरी यहाका किसानलाई ठगी गरीरहेको भन्दै रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज श्रीपुर बाराका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले चिन्ता जाहेर गरेका छन ।
‘बाराका किसान उखुको तौलमा ठगिदै गरेको तथ्य विभिन्न संचार माध्यमबाट प्रमाणित भईसकेको छ,’ उनले भने, ‘बाबा बैजुनाथले चिनीमिलमा राखेको तौल काटामा हेरेफेर गरी किसानलाई ठगी गरीरहेको छ ।’ किसानले चिनीमिलमा ल्याएको उखुको तौलमा ठगी गरीरहेको उनले जानकारी दिए ।
बारा र पर्साका किसान बाबा बैजुनाथ चिनीमिलबाट ठगिएको तथ्य फेला परेपछि त्यसलाई नियन्त्रण गर्न बारा र पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई गत वर्ष नै ध्यानाकर्षण गराउदा पनि कुनै एक्सन नहुदा यस्तो अवस्था आएको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रि प्रालिकै प्रशासन प्रमुख मनोहर झाले जानकारी दिए ।
यस वर्ष पनि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी समेत गरिएको उनले जानकारी दिए । बाबा बैजुनाथले बारा र पर्साबाट चिनीमिलमा पुर्याएको ट्रेक्टर चालकलाई प्रति टिप पाच सय रुपैयाँ नगद, बेलुकाको खाजामा मदिरा र मासु तथा ट्रेक्टरमा १० लिटर तेलको प्रलोभन देखाई ठगी धन्दा चलाईरहेको उनले आरोप लगाए ।
एउटा ट्रेक्टरलाई तौल गर्दा प्रति ट्रेक्टरमा १० देखी ३० क्विन्टल उखु बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालीले ठगी गरीरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले आरोप लगाए ।
‘आफ्नै सामुने उखु लोड भएको ट्रेक्टर तौल गर्दा उखुको वास्तविक तौल घटेको पाईयो,’ उनले भने, ‘हाम्रो अनुपस्थितीमा के हुदो होला सहजै अनुमान गर्न सकिन्छ नि ।’ बाबा बैजुनाथ चिनीमिलका संचालक बैजु बाबरालाई संगै राखेर तौल गर्दा घटी प्रमाणित भएको उनले बताए ।
आफ्नो ठगी प्रकरणलाई लुकाउन बैजुले आफै आफ्ना लठैतलाई लगाई समाचार संकलन गर्न आएका रौतहटका एक संचारकर्मीलाई निर्घात कुटपीट गरेको उनले जानकारी दिए ।
पत्रकार कुटने र उखु उत्पादक संघका पदाधीकारीलाई धम्काउने ठग चिनीमिल संचालकलाई कानुनी कारवाही गर्न उनले स्थानीय प्रशासनसंग माग समेत गरेका छन ।
पत्रकार कुटेको, पत्रकारको मोबाईल फुटाईदिएको स्वीकार गर्दा पनि बैजु बाबरालाई स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कानुनी कारवाही नगर्दा यहाका उखु किसान समेत त्रसित बनेको उनले बताए ।
करीब ९ लाख क्विन्टल बढी उखु क्रसिङ्ग गरीसकेको बाबा बैजुनाथले अहिले सम्म कति क्विन्टल उखु ठगी गरेको होला सहजौ अनुमान गर्न सकिन्छ । पैसाको बलमा बैजु बाबराले स्थानीय प्रशासन, नापतौल विभागका कर्मचारीलाई अर्थिक प्रलोभनमा पारी आफ्नो ठगी धन्दा संचालन गरेको आरोप उखु उत्पादक संघ रौतहटका अध्यक्ष यादवले अरोप लगाए ।
सम्बन्धित निकायले समयमै ठगी धन्दा गर्ने चिनीमिल संचालकलाई कानुनी दायरामा नल्याए आफुहरु वाध्य भई आन्दोलनमा उत्रिने चेतावनी समेत उनले दिए ।
साभार- गढि न्युज