काठमाडौं । नेपालको काभ्रे जिल्लाकी चेली ममता काफ्ले (वर्ष २८) सात समुद्रपार अमेरिकामा करिब एक महिनादेखि बेपत्ता छिन् । उनको हत्या भइसकेको ठानिए पनि अमेरिकी प्रहरीले आधिकारिक पुष्टि गरेको छैन ।
शंकाको घेरामा छन् ममताका श्रीमान नरेश भट्ट । घरभित्रै हत्या गरेर लास लुकाइएको हुनसक्ने प्रमाणहरु फेला परिसकेपछि भर्जिनियाको मनासास प्रहरीले भट्टलाई पक्राउ गर्याे । अदालतले जमानत दिन अस्वीकार गरेपछि उनी अहिले हिरासतमा छन् । अर्को सुनुवाइ २४ अक्टोबरलाई तोकिएको छ ।
वासिङटन डीसी नजिक भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पसअन्तर्गतको प्रिन्स विलियम अस्पतालमा नर्स जागिर गर्ने ममता गत जुलाई ३१ बाट बेपत्ता भएकी थिइन् । उनले काम गर्ने ठाउँबाट प्रहरीमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले घरमा आएर श्रीमानसँग सोधपुछ गर्याे । श्रीमानले भने ५ अगस्तमा मात्रै आधिकारिक रुपमा प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
५ दिनसम्म उजुरी नदिँदा नेपाली समुदायमा श्रीमानप्रति शंका उब्जिन थालिसकेको थियो, तर नरेश भने निर्धक्कसँग घरमा एक वर्षकी छोरी हेरेर बसेका थिए । यतिमात्र होइन, उनले दर्जनौं मिडियालाई घरबाटै अन्तर्वार्तासमेत दिए । कसैलाई घरको ढोकामा उभिएर त कसैलाई भर्चुअल माध्यमबाट । अमेरिकी र नेपाली सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्दोष रहेको जिकिर गरिरहे । अमेरिकाका ठूला सञ्चारमाध्यमले समेत यो घटना कभर गरेका छन् ।
प्रहरीले घरमा छापा मारेपछि भने ममताको हत्या गरेर लास लुकाइएको आशंका गर्याे र नरेशलाई तत्काल पक्राउ गर्याे । उनलाई दुई पटक अदालतमा पेश गरिएको छ । नरेशले आफूलाई अंग्रेजी नआउने भन्दै दोभासेको सहारा लिएका छन् । यद्यपि उनले केही अमेरिकी मिडियालाई अंग्रेजीमै अन्तर्वार्ता दिएका थिए । उनले अंग्रेजीमा बोलचाल राम्रैसँग गर्न सक्छन् ।
नरेशका अन्तर्वार्तामध्ये सबैभन्दा विस्तृत कुराकानी सच्ची मैनालीले गरेकी थिइन् । अगस्त २० को राति उनले गरेको भर्चुअल अन्तर्वार्ता सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण भएको थियो । सो अन्तर्वार्तामा पनि नरेशले आफू निर्दोष रहेको दोहोर्याए, तर थुप्रै ठाउँमा लट्पटिएका छन् । अन्तर्वार्ताबाट श्रीमान र श्रीमतीबीच सम्बन्ध असहज अवस्थाबाट गुज्रिरहेको थियो भन्ने प्रस्ट हुन्छ । मानिसहरुलाई अल्मल्याउन केही ठाउँमा उनले श्रीमतीको प्रशंसा पनि गरेका छन् ।
सो अन्तर्वार्ताका मुख्य अंशलाई यहाँ साभार गरिएको छः
– तपाईंलाई अहिले कस्तो छ ?
(ख्वाक्क खोक्दै) कुन हिसाबले भन्ने अब । नर्मली ठीकै छ भन्नुपर्याे ।
– घटनापछि मानसिक रुपमा केही समस्या परेको छ कि ?
त्यो त डेफिनेटली नोटिसेबल हिसाबले छ । आज मान्छे आएर पनि जानुभो ।
– को आउनुभएको थियो ?
देखिरहेको, चिनिरहेको मनोविद् हो । नाम सम्झिनसक्ने क्षमता नै कम भइसक्यो मेरो । दुई जना हुनुहुन्थ्यो । एक्लै बसालेर पनि कुरा भो ।
– उहाँहरुले के भन्नुभयो ?
त्यो अब उता हस्पिटलाइजको कुरा, त्यस्तो त्यस्तो टाइपको कुराहरु, मेडिकेसनका कुराहरु, काउन्सिलिङको कुराहरु गर्नुभएको छ ।
– तपाईंलाई मानसिक डाक्टरको आवश्यकता छ भन्ने निचोड निकाल्नुभएको हो ?
उहाँको भनाइबाट त्यस्तै बुझें ।
– आफैंलाई गाह्रो भएको छ भने छोरीको हेरविचार गर्न सक्नुभएको छ त ?
गरिराछु । मैले सकेको बेस्ट गरिरहेको छु ।
– यसपछि म सक्दिन भन्ने प्वाइन्टमा पुग्नुभएको छ कि ?
त्यस्तो छैन । जस्तो सकेको छु, त्यस्तो गरिरहेको छु ।
– तपाईंले लेटर लेखेर माइती परिवारलाई बोलाउने कुरा थियो । त्यो के भएको छ ?
मैले लेटर लेख्ने भनेको होइन, अरुले लेखेर मैले साइन गर्ने भन्या हो । म त वेट नै गरिराख्या छु । डिएस वान सिक्टी भरेर सकियो । त्यो लेटर कस्तो हो, कसको नाममा हो ? कसैले भइसक्यो भन्छ, मकहाँ कसैले पनि ल्याएको छैन ।
– छोरीलाई अहिले कस्तो छ ?
अस्ति पानीमा गएका थियौं छोरी र म । त्योपछि एक दिन जरो आयो । हिजो पनि मान्छेहरु आको आइ । फर्स्ट टाइम आज चैं वान्ता गर्याे । अहिले झोलिलो खुवाएर रेस्ट गराएको छु ।
– छोरीले आमा कत्तिको खोज्छिन् ?
जनावरको बच्चाले त आमा खोज्छ, उसले खोज्दैन होला त ? त्यो त कुरै भएन । मसित मान्ने चाहिँ मैले धेरै खेलाउँथें, तर म त आमा होइन नि ! आमाले दिनसक्ने म दिन सक्दिनँ । ऊ अर्कै कुरा, म अर्कै कुरा हो । उसले धेरै काम गर्ने हो छोरीको । आमा त आमा नै हो नि !
– ममता हराउनुअघि उहाँले नियमित काम गरिरहनु भएको थियो ?
हामी दुवैले काम गर्थ्याैं । ममताको एक महिना समथिङ भएको थियो ज्वाइन गरेको । म डिसेम्बरसम्म दुई वटा जब गर्थें । अहिले चाहिँ एउटामात्रै छ ।
– तपाईं खासमा कस्तो स्वभावको मान्छे हो ?
भन्न खोज्या कस्तो हो, मैल बुझिनँ ।
– तपाईं रिसाहा हो कि शान्त हो कि कस्तो भनेको ?
म इन्टोभर्ट र रिजर्भ छु ।
– साथीभाइ धेरै छैनन् ?
साथीभाइ त धेरै छन्, तर क्लोजनेस छैन । सबैसँग म उ गर्न जान्दिनँ । मैले सबभन्दा नजान्ने भनेको कुरा गर्न जान्दिनँ ।
– तपाईंले चिनेको ममता कस्तो स्वभावको मान्छे हो ?
उसको धेरै मान्छेमा नहुने गुण भनेको अरुलाई मोटिभेट गर्ने हो । आफू बाइ द वे हरेस खाए पनि अरुलाई मोटिभेट गर्ने मान्छे हो ।
– बिहे गरेदेखि अहिलेसम्म कत्तिको घरझगडा भएको छ ?
सामान्य सामान्य त… एउटा ‘पोजिटिभ वे’ को झगडा त भइ नै राख्थ्यो । हाम्रो खासै झगडा भाको भन्या चैं एकचोटि फेब्रुअरीतिर हो । एकचोटि चैं दुई तीन वर्ष पहिले हो । सामान्य कुराहरु… तैंले यति खर्च किन गरिस्.. यसो किन गरिस्… उसले भन्ने हो… त्यो मेरो लागि नै भन्ने हो ।
– यो सँग किन बोलिस्, त्योसँग किन हिँडिस भन्ने खालको पनि हुन्थ्यो ?
त्यस्तो स्पेसिफिक चैं कहिले पनि भएन । लास्ट आवरमा आउँदाखेरि चैं बाहिर भन्दा आफूलाई फोकस गर्ने हो भन्ने खालको हुन्थ्यो ।
– फेब्रुअरीमा घरबाहिरै गएर बस्नु पर्ने गरी के कुरामा झगडा भएको थियो ?
फेमिलियर कुरामा हो । उसलाई चैं… यत्रो दुःख गर्याैं । हामी दुई जनाबाट तीन जना भएका छौं । राम्रो गरे पनि तीन जनाले गर्ने हो, नराम्रो पनि तीन जनाले भन्ने टाइपमा थियो ।
– फेब्रुअरीभन्दा अगाडि झगडा भएको थिएन ?
त्योभन्दा अगाडि एक पटक चैं भाथ्यो । नर्मल राम्रोवाला झगडा भइराख्थ्यो । नराम्रोवाला झगडा चैं, हामी तीन जनामात्रै बस्नुपर्छ, तीन जनाबाहेक अरु हाम्रो फेमिली होइन भन्ने.. त्यस्तो नेगेटिभली होइन, पछि युनाइटेड फेमिली बसौंला …अहिले न्यूक्लियर भएर बसौं, सबैले यहाँ त्यही गरेका छन्… यो नेपाल होइन, भन्ने थियो मेरो ।
– झगडा गर्दा हात हालाहाल पनि भएको थियो ?
हात हालाहाल त भएको होइन । एकचोटि चैं मिस्टेकले भात मेरो टाउकोमा जानिजानी फाल्या पनि होइन, मिस्टेकली फाल्या पनि होइन । त्यस्तो सामान्य कुराहरु भएको हो ।
– बिहेपछि एक्स्ट्रा मेरिटल अफेयर्सले त प्रोब्लम भएको होइन ?
त्यस्तो त न उसको न मेरो । रिस उठेको बेला कसैले भन्यो भने पनि मुखले भन्ने कुरा हो । दुवै जनाको त्यस्तो छैन ।
– घर बाहिर हुँदा फोन-म्यासेजमा कुराकानी कत्तिको हुन्थ्यो ?
जेनरली त्यस्तो धेरै त हुने होइन । मेरो काममा मसित फोनै हुँदैन ।
– एक जना घर ढिला आउँदा खोजीनीति हुँदेनथ्यो ?
ढिला आएँ भने पनि किन ढिला आइस् भन्ने खालको होइन । म कामबाट कहिले नि त्यसरी.. बच्चा भएपछि आज यो लिएर आइज न भने पनि म सीधै आउँथें, उसले बरु म बच्चा नसुताइ राखिदिउला त भन्ने हो ।
– ममता अहिले कहाँ छिन् होला ? केही गलत डिसिजन पो गरिन् कि जस्तो लाग्छ कि लाग्दैन ?
त्यस्तो के लाग्छ भनौं । घरीघरी हो कि आउँछ कि जस्तो लाग्छ । शरीर जिरिङ हुन्छ, केही भन्नै सक्दिनँ । के आन्सर दिनु । शरीरमात्रै जिरिंग हुन्छ ।
– नराम्रो केही गरिन् कि जस्तो लाग्छ ?
हजार कुराहरु आउँछन् । दिमागले कहिले के भन्छ कहिले के भन्छ ।
– सेफ छिन् जस्तो अपेक्षा गर्नुभएको छ ?
चाहिएको त्यत्ति हो । अरु केही पनि चाहिएको होइन ।
– गलत निर्णय गर्न सक्छिन् जस्तो लाग्छ कि लाग्दैन ?
नगर्नुपर्ने हो ।
– अस्ति तपाईंको सासूआमासँग कुरा गर्दा सबै कुरा ज्वाइँलाई थाहा छ भन्नुभयो । अरुलाई तपाईंले नै केही गर्नुभएको जस्तो पनि लागेको छ । तपाईंमाथि शंका हुनसक्छ ?
शंका गरेको भन्दा पनि उ त मेरो फेमिली हो । म सँगसँगै बस्छ । त्यसैले मलाई थाहा छ भन्नुभएको होला । उहाँले कुन सेन्समा भन्नुभयो । मेरो दुवै परिवारका मान्छेहरु हाइली एजुकेटेड र बोल्न जान्ने कोही छैन । उहाँले कुन सेन्समा के कुरामा भन्नुभएको हो थाहा भएन । दुवै एउटै धरातलका फेमिली हुन् ।
– ममताले यो कार्यक्रम हेरिरहेको भए के भन्न चाहनुहुन्छ ?
तिमी आउने हो कि म आउँ लिन ? छिटो (गला अवरुद्ध) म निमालाई लिएर आउने हो कि ?
– ममता फर्केर आइन् भने सजिलै एक्सेप्ट गर्नुहुन्छ होइन ?
झगडा भएर गएको त होइन नि त ! हाम्रो पहिले तँ तँ र म म हुन्थ्यो, अहिले त्यस्तो पनि हुँदैन ।
– कहिलेदेखि यस्तो राम्रो भएको ?
हामी न्युक्लियर भइसकेपछि । अप्रिलतिरबाट झगडा हुन छोडेको हो ।
– कसरी त्यस्तो भयो ? के आधारमा सम्झौता गर्नुभयो ?
नयाँ घरमा आयौं । नयाँ बच्चा भयो । मेडिटेसनहरु, क्लासहरु त्यस्तो त्यस्तो गरिराख्या हुन्थ्यो । उसैले भन्यो, यो फेमिली मैले फोकस गर्छु अब । बुवाआमालाई बोलाएको पनि मैले पठाएको पनि मैले । मेरो तरिकाले फोकस गर्छु । दुवैले आउटिङ बन्द गर्नुपर्छ । तेरो यहाँ मेरो यहाँ । त्यसपछि नेटफ्लिक्स लगाएर प्रत्येक हप्ता एउटा फिल्म हेर्ने पनि गर्या थियौं, तीनै जना बसेर ।
– ममता घरमा भएको अन्तिम दिन जुलाई ३१ मा के–के भएको थियो ?
बुधबारको राति उसले ‘खोले साग’ ल्याएको हो । त्यही साग खाको हो । उसले पकाएको हो । खाना उसले नै पकाउने हो सधैँ । मैले चाउचाउ साउचाउमात्र पकाउने हो । मैले तारिफ त गर्न खोज्या होइन, उसको जस्तो खाना सबैले पकाउन सक्दैन ।
– ममताको आमाले त्यस दिन भिडिओ कलमा कुरा गर्दा छोरीको अनुहार अँध्यारो थियो भन्नुभएको छ । तपाईंहरुबीच केही भएकै थिएन त ?
आजकाल त एकदम फर्मली भइराको हो । (ठाकठुक) हुनुपर्ने त हो, हुनुपर्छ । त्यो कहिलेकाहीँ हुनुपर्ने, तर पनि हुन्थेन । त्यसलाई एकदमै राम्रो भएको त भन्न मिलेन । पहिले कहाँ जाने किन जाने ? यो सामान किन ल्याइस्, महँगोमा ल्याइस् भन्ने हुन्थ्यो । अहिले त त्यस्तो पनि थिएन ।
– भनेको नर्मलभन्दा पनि राम्रो सम्बन्ध ?
मलाई त्यस्तो त राम्रो लाग्दैन । मलाई अलिकति झगडा सगडा थोरथोरै भएकै मनपर्थ्याे । कहिलेकाहीँ रिसाएको पनि ठीक लाग्छ आफूलाई । ऊ चाहिँ धेरै किफायती मान्छे हो । एकदुई पेनी पनि तलमाथि भयो भने ऊ किन महँगोमा किनिस् भन्ने खालको हो ।
– घरको खर्च तपाईंले गर्ने हुन्थ्यो सबै ?
घरको सबै खर्च, ग्रोसरी मोर्गेज सबै कुराहरु मैले गर्थें । किनभने उसको बीचमा जब थिएन नि त !
– त्यस राति तपाईंले अनुहारमा केही महसुस गर्नुभएको थियो त ?
मैले त थिएन । बरु मेरो फेसियल एक्सप्रेसन रिड गर्न सकिन्छ । उसको चाहिँ सकिन्न । मैले चैं सक्दिनथें ।
– अर्को दिन बिहान उहाँ काममा जानुभयो ?
यस्तो हुन्छ… हाम्रो यता ठूलो कोठा छ । उता सानो–सानो अरु तीन कोठा छन् । बीचको यता कोठामा, यो कुरा भन्न मिल्छ कि मिल्दैन, ऊ चाहिँ महिनामा चारपाँच दिन, एउटा कोठामा ठूलो सोफा र सामानहरु राखिएको छ, त्यहाँ चार दिन सुत्ने हो । उताको छोरीको कोठा हो, त्यसको तल मन्दिर पर्छ । जनरली त्यहाँ कोही सुत्दैन । यताको कोठा छ, त्यहाँ जो काममा जाने हो, त्यो सुत्ने हो । जनरली कहिलेकाहीँ एउटै कोठामा सुतौं न त भन्ने पनि हुन्छ । काम जाने र नजाने भयो भने नजाने मान्छे भुईंमा सुत्ने र जाने बेडमा सुत्ने हो । एक दिन म अन्त थिएँ । छोरी खाटबाट लडिछन् । त्यसैले छोरीलाई भुईंमा सुताउन थालेको हो । ऊ साँझ नुहाउने हो, म बिहान नुहाउँछु ।
– कामबाट कति बजेतिर आइपुग्थिन् ?
ठ्याक्कै खाना खाने बेलातिर आउने हो । ७ बजेतिर बिदा हुन्थ्यो । घर आइपुग्दा ८ बज्थ्यो । जनरली ऊ पछि खाने हो । मैले पहिले छोरीलाई खुवाउने र छोरीसँगै खाने हो ।
– अगस्त १ को राति उनी घर नआएपछि तपाईंले के गर्नुभयो ?
पहिले फोन ट्राइ गरें…फोन… भ्वाइस मेलमा गयो । अनि एक जना छिमेकी साथी हुनुहुन्छ, उहाँको तिर हेरेर आएँ ।
– छिमेकीले के भन्नुभयो ?
भित्र गएर होइन, बाहिरैबाट हेरेको हो । सबै कुरा भन्न मिल्दैन, उनीहरुको नामसाम ।
– बाहिरैबाट कसरी थाहा पाउनुभयो त ?
उनीहरुको सबै कुरा नखोलौं, जे होस् ट्रान्सप्यारेन्ट छ । मैले भित्र मान्छे देखेथें, तर ममता देखिनँ ।
– घर फर्केर के गर्नुभयो ?
घर फर्केर कता हो के हो एकछिन सोचें । के हुनसक्छ ह्यानत्यान । छोरीलाई माथि सुताएँ । एकदुई चोटि फोन ट्राइ गरें । भ्वाइस मेलमा गयो । दूध तताएँ । खाना चाहिँ पकाएको होइन मैले । छोरी फेरि उठी । सुताएँ ।
– ममताको थप खोजी गर्नुभएन ?
अरु त्यस्तो केही गरिनँ ।
– श्रीमती राति घर नआउँदा तपाईं त आत्तिनुपर्ने हो । तपाईं कसरी सुत्न सक्नुभयो ?
मैले त्यसरी लिइनँ । पहिले पनि बाहिर बस्दा दुईतीन दिन उतैबाट काममा जान्छु भन्थी । मसित चैं भन्या हुन्थेन, अरुसँग चैं भन्या हुन्थ्यो ।
– तर, अहिले त तपाईंहरुको सम्वन्ध राम्रो थियो, विनाजानकारी बाहिर बस्नुभयो होला भनेर कसरी सोच्नुभयो ?
मेरो कन्सेप्टमा त्यस्तो आयो भनुम् न । मेरो कन्सेप्टमा त्यस्तो आइसकेपछि… भोलिपल्ट काममा नगएको रहेछ । पुलिसले ‘वेलनेस चेक’ भन्यो । त्यो प्वाइन्टमा गएपछि चाहिँ म सिरियस भएँ । जे भए पनि काम छोड्ने मान्छे त होइन । अनि पुलिसलाई म आफैंले बोलाएँ ।
– तपाईंले १ तारिखको दिन पुलिस बोलाउनु भएन होइन ?
अहँ । एक्कैछिन ल ।
(कुराकानी गर्दागर्दै छोरी रोएको सुनेर भट्टले कन्भर्सेसन बन्द गर्छन् । छोरीलाई दूध खुवाएर केही बेरपछि फोन गर्छन् । आफूलाई प्रेसर फिल भएको तथा प्रश्नहरु नै चित्त नबुझेको बताउँछन् । अन्तर्वार्ता धेरै लामो भएको र अरु मिडियामा बोलिसकेका कुरा सोधिएको गुनासोसमेत गर्छन् । अन्तर्वार्ताकारको आग्रहमा फेरि अन्तर्वार्तालाई निरन्तरता दिन तयार हुन्छन्, तर छोरी आफ्नो छातीमा सुतिरहेको भन्दै अनुहार देखाउन मान्दैनन् ।)
– उजुरी गर्न अगस्त ५ सम्म किन कुरेर बस्नुभएको ?
२ तारिखमा बिहानपख पुलिस आएपछि…. भित्र आउँदैन रहेछ, सोध्नमात्रै आएको रहेछ । मैले सिरियस भएपछि त्यसलाई बोलाएँ । काम छोड्ने मान्छे होइन भनें । ल यस्तो यस्तो भयो, सबै हिस्ट्री पहिले पनि साथीकोमा बस्न गएको भनेर सुनाएँ । उसले त्यही भन्यो । तँ पहिले खोज । एक्जस्टेड भइस भने लेट अस नो । २० देखि ३० मिनेट कुरा भएपछि कार्ड दियो । फोन नम्बर कार्डमा लेख्या थ्यो । ल ठीक छ भनें । स्टेप बाइ स्टेप पुलिसलाई फलो गरेको छु । प्रत्येक मान्छेलाई फलो गर्न सक्दिनँ । एफआईआर फाइल गर्न पनि त रुल हुन्छ ।
– तर, सहकर्मीबाट खबर भएपछि मात्रै तपाईंले प्रहरीलाई भन्नुभयो । आफैंले गर्न किन जरुरी ठान्नुभएन ?
त्यतिञ्जेल म सिरियस थिइनँ । वेलनेस चेकको लागि भनेर प्रहरी आए । त्यसपछि म सिरियस भएको हो । म पनि नर्मल मान्छे हो । नर्मल सिचुयसनहरु थियो होला । एकछिनपछि पो आउँछ कि भन्दाभन्दै सुतें । जब काममा गएको छैन भने पछि चाहिँ म सिरियस भएँ ।
– माइतीले पनि प्रहरीलाई खबर गर्न दबाब त दिएको रहेछ । न्यूयोर्कबाट सुनिता भण्डारी (ममताकी कजन) ले पनि भन्नुभएको रहेछ नि ?
उहाँले म्यासेज छोड्नुभएको थियो । त्यतिञ्जेलसम्म थाहा छैन नि त ! सोसल मिडियाका कुराहरु दिदीले सिसाइड गर्नुभएको हो ।
– तपाईंले गर्नुभएको पोस्ट पनि प्राइभेट रहेछ किन ?
म मोबाइल हेर्ने अवस्थामा छैन । मलाई त्यो पब्लिक थियो कि प्राइभेट थाहै भएन ।
– तपाईं छिमेकीको ढोका ढक्ढकाउन किन जानुभएन ?
त्यस्तो त मिल्दैन यता । त्यस्तो नेपालमा चाहिँ गर्न सकिन्छ यहाँ सकिन्न । हजुरले अर्काको ढोकामा गएर भन्न सक्नुहुन्छ ?
– तपाईं जानुभएको थियो रे भनेर मलाई एकजनाले भन्नुभएको थियो ।
म गएको छैन । छिमेकी मान्छे नै मकहाँ आएको थियो । त्यही बेला मैले सोधेको हो । अर्को छिमेकीसित त टच नै छैन ।
– अगस्त ५ मा उहाँको सिटिजनसीपको अन्तर्वार्ता थियो हो ?
त्यो मलाई पनि थाहा भएन । फर्म चैं आफैंले भरेको हो । मैले भेरिफाइ गर्या हो । दुई तिन हप्ता अगाडिको कुरा हो ।
– इमेल हेर्न सक्नुहुन्न ?
छैन । उसकोमा एक्सेस छैन ।
– उनीसँग कन्डिसनल ग्रीन कार्ड थियो र तपाईंले नियन्त्रित व्यवहार गर्नुहुन्थ्यो भन्नुभएको रहेछ ?
कन्डिसन हटाएको ३-४ महिना भइसक्यो ।
– तपाईंको कमाइ उनको भन्दा अलि धेरै नै छ ?
त्यो त खै ।
– उनले मेरो ग्रिनकार्ड हरायो भनेर फेसबुक ग्रुपहरुमा सहयोग मागेको रहेछ, तपाईंलाई थाहा छ ?
हराएको भन्दा पनि मिस प्लेस हो । लास्ट टाइम हामी डीसीमा घुम्न गएका थियौं । हाम्रो भाइ आएको बेला घुमाउन तीनजना गएका थियौं । त्यतिबेला के भयो भने उसको आईडी कार्ड घरमा मिसप्लेस भएको रहेछ । टावर चढ्ने बेलामा आईडी माग्यो, तर उसले ग्रीन कार्ड दिएपछि भाइले किन ग्रीन कार्ड देखाउनुभएको भन्यो । जबमा जाँदाखेरि ब्यागमै रहेछ थाहा भएन भनेपछि मैले ग्रीन कार्ड किन बोकेर हिन्छौं भनें । त्यसपछि घरमा आएर उसले कतै राख्यो । मेरो कागजपत्र पनि उसले नै राख्ने गरेको हो । पुरानो घरबाट यहाँ मुभ भयौं । नभेटिएपछि मिसप्लेस भएको हो ।
ग्रीन कार्ड हराएको होइन । एक्सपायर भएको हो । त्यसपछि एउटा पेपर आयो । नयाँ काम ज्वाइन गर्दा पुरानो पनि चाहिन्छ भन्ने भयो । दुवै जनाले खोजेको हो । नभेटिएपछि ग्रुपमा पोस्ट गरेको कुरा त मलाई पनि थाहा छैन । उसको आफ्नो नलेज मेरो आफ्नो नलेज हो ।
– पछिल्लो अवस्थामा तपाईंहरुबीच डिभोर्सको कुरा थिएन नि ?
त्यो त पहिले पनि थिएन । कहिलेकाहीँ दुवैले तर्साएकोमात्र हो । छुट्टिने मनसाय थिएन ।
– झगडा हुँदा तपाईंले ज्वाइन्ट अकाउन्टबाट सबै पैसा निकालेको हो ?
सबै पैसा भनेको कति पैसा ?
– अकाउन्टमा जिरो ब्यालेन्स रहेको भनेर ममताले एकजना साथीलाई देखाएको रहेछ । त्यो साथीले अमाजोनबाट सेकेन्ड ह्यान्ड फोन दिएको रहेछ नि ?
कसले के गर्याे, यस्ता कुरा नगरौं… मलाई थाहा भएअनुसार म्युचुअल साथीले किन्दिएको हो फोन । ज्वाइन्ट अकाउन्टमा ९ हजार समथिङ थियो अलरेडी । पैसा भइसके पछाडि… मेरो छुट्टै बैंक अकाउन्ट कुनै पनि छैन । कसले भन्यो निकाल्यो भनेर ?
– अहिले सबै राम्रो छ भन्नुभयो, तर तपाईंले ममता हराइसकेपछि सुनिता भण्डारीलाई गरेको टेक्स्टमा हामी सम्मानपूर्वक छुट्टिने सोचमा थियौं भन्नुभएको रहेछ नि त ?
(अकमकाउँदै) त्यो भन्या चाहिँ… होइन, अघि नै तपाईंलाई मैले भने…. यी कुराहरु भन्या सबै सिचुयसनल हो । कतिबेला तँ मरिहाल भनेर भनेको होला, मलाई मार्न खोज्या त होइन । सिचुयसनल कुरा हो ।
– तर तपाईंले किन त्यस्तो टेक्स्ट गर्नुभयो ?
त्यस्तो कुरा त थिएन । बरु हामी स्टेट मुभ हुने कि त्यो पनि दुवैकाे सल्लाहमा क्यालिफोर्निया मुभ हुने कि भन्ने थियो । मैले लेखेको सम्झना छैन ।
– उहाँको टेक्स्ट नै मलाई उपलब्ध भएको छ, यो फेक हो र ?
उहाँसित त्यो चिसो महिनामै हो । पहिलेकै कुरा हो । त्यो सन्दर्भलाई यता जोडे कि कसरी आयो त्यो कुरा । चिसो महिनाकै कुरा हो । सधैँ त त्यस्तो हुँदैन । त्यतिञ्जेल मेरो मेन्टालिटीमा के थियो ।
– होइन मैले भर्खर अगष्टकै कुरा गरेको । अगष्ट २ मा उहाँलाई सबै कुरा ठीक छ भनेर पनि लेख्नुभएको रहेछ । किन लुकाउनुभयो ?
हुन्छ नि त ! सबै कुरा सबैलाई भन्नुपर्ने पनि होइन ।
– अस्ति आमालाई दुईतीन दिन काममै छिन् भनेर नखोजेको भन्नुभएको रहेछ । अहिले त उनी कतै पनि बाहिर बस्थिनन् र बस्ने कारण पनि थिएन नि होइन ?
थिएन ।
– अरु केही भन्नु छ तपाईंलाई आफ्नो कुरा राख्नुपर्ने ?
त्यस्तो केही छैन । एउटै हो । हामी जस्तो जे हो त्यस्तै हुन चाहन्छौं ।
– समुदायबाट के आशा छ भन्नुस ?
के भन्ने ?
– फाइनान्सियल असिस्टेन्स चाहिएको छ भन्नुभएको रहेछ ग्रुपमा, कस्तो सहयोगको आवश्यकता छ ?
सबैले के छ समस्या भन्दाखेरि मात्रै भनेको हो मैले । मेन चाहना भनेको ममता भयो भने सबै समस्या आफैं सकियो । अरु कुरा चाहिँ यो यो गर्न सक्या छैन भन्या हो । सबै कुराहरु गर्न त सक्या छैन नि त । त्यति नै हो ।
– कसैले भन्नुभो अमेरिकामा १८ दिनमै समस्या पर्ने के छ र ? दुई जना काम गर्ने, सिंगल घर, टेस्ला गाडी चढ्ने, बेसमेन्ट रेन्टमा छ, भेट्रानबाट पनि आउँछ होला भन्ने कुरा उठेको थियो । तपाईंकै मुखबाट आओस् भनेर सोधेको नि ?
टेस्ला किनेर चढेको होइन, बैंकको हो । घर पनि बैंकको हो । तिर्नुपर्ने फाइभ मन्थ रन भइरहेको हुन्छ । धान्नै नसक्ने त अवस्था छैन । यो महिनाको ६-६ हजारको मोर्गेज तिर्नुपर्छ । ६ हजारको पे चेक कसैको पनि आउँदैन । के छ भन्दा रियल सिनारियोमा सिचुयसन त्यस्तै हो । इमोसनली फाइनान्सीयल्ली फिजिकल्ली एक्जस्टेड भएको अवस्था हो ।
– अन्तिम तपाईं के भन्न चाहनुहुन्छ ?
त्यत्ति नै हो । त्योबाहेक अरु कुनै मोटो पनि छैन । गोल पनि छैन । आउ… लिन आउनुपर्छ…. मान्छेलाई केही भन्दिनुपर्छ…. के गर्नुपर्छ । आइसकेपछि दुनियाँको हामीलाई सरोकार छैन । दुनियाँसँग ट्याकल गर्नुपर्दैन । जे गर्नुपर्छ भित्रै गरौंला ।
अन्त्यमा सोध्छु, तपाईंले केही गर्या त होइन नि ममतालाई ?
मैले केही पनि गर्या छैन । वादविवाद पनि भएको छैन ।