आज विश्वभरका सबै समाजमा साझा दिवसको रूपमा भ्यालेन्टाइन डे पर्छ । यसलाई सुरुवातमा रोमन क्याथोलिकहरूले पर्वको रूपमा मनाउने गर्थे । यो कसरी स्थापित हुन पुग्यो ? यसको रोचक इतिहास यस्तो छ:
रोमनका राजा क्लाउडियसले युद्धमा जाने सैनिकहरूले विवाह गर्नु हुन्न भन्ने मान्यता राख्थे । यदि विवाहित र सहवासमा संलग्न भइसकेको सैनिक युद्धमा हुमियो भने युद्ध कमजोर हुन्छ भनेर प्रतिबन्ध लगाए । त्यसपछि राजाको विरोधमा एक जना सन्त गुरु भ्यालेन्टाइन उत्रिए । धर्मगुरुको पक्षमा लागेर करिब ३ सय जनाले सामूहिक विवाह गरे । यसरी राजाको विरोध र धर्मगुरुको पक्षमा लागेर विवाह गर्नेहरू, गुरु र भ्यालेन्टाइनसहितलाई सन् २६९ फेब्रुअरी १४ मा फाँसी भयो । त्यही घटनालाई सम्झना गर्दै स्मृति दिवस प्रत्येक फेब्रुअरी १४ मा मनाउन थालिएको हो ।
यसको सुरुवातलाई हेर्ने हो भने अन्य नेपाली हिन्दु परम्पराका धर्महरू जस्तै कुनै पनि युद्धको विजयी भएको दिनलाई विशेष पर्वको रूपमा मनाउने गरिन्छ । यसरी सबैका आफ्नै खाले इतिहास, संरचना, मूल्य मान्यता र विशेषता हुन्छन् । प्रेम र विवाह गर्न पाउनुपर्छ भन्दै विरोध र दण्ड भएको दिनलाई आधार मानी रोमनमा सुरु भयो । तर, आज विश्वका सबै ठाउँमा यसको प्रभाव पर्न गयो । नयाँ जोडी वा सम्बन्ध राख्ने चलन नेपाललगायतका एसियाली देशमा पनि संख्यात्मक रूपमा बढ्दो छ ।
त्यसैले नेपाली समाजमा के कस्तो प्रभाव परेको छ ? यसको महत्त्व के छ ? यसले समाजको मूल्य मान्यतामा के कति असर पुर्याउँछ वा यसका सकारात्मक वा नकारात्मक पक्षहरू के कस्ता भए ? विवाह वा प्रेम गर्ने चलन २० वर्षपहिला र अहिलेको सामाजिक संरचनामा आएको परिवर्तनलाई आधार बनाएर हेर्ने हो भने विश्वव्यापीकरणले पारेको प्रभाव देख्न सकिन्छ ।
मानव सृष्टिसँग जोडिएको प्रेम सम्बन्ध, प्रेम कहानी मानव अवशेष भएसम्म त्यसको पुस्तान्तरण भई नै रहन्छ । यो सही प्रमाण हो कि बाबुआमाबिना सन्तान सम्भव छैन, सृष्टि सम्भव छैन । प्रेम प्रस्ताव र स्वीकारबाट नै नयाँ सृष्टि सुरुवात भएको हो । पुस्तान्तरण र हस्तान्तरणको सामाजिक मूल्य मान्यता र संस्कृतिले नै जीवनलाई मूल्यवान् र पारिवारिक बनाउँछ । एकअर्कामा प्रेम सम्बन्ध राख्ने, नयाँ जीवनसँग नयाँ परिवारको सुरुवात गर्ने परम्पराले नै मानव अवशेष आजसम्म रहिरहेको छ ।
बजारसँग सम्बन्ध
यहाँहरूले हेर्नुभयो भने भ्यालेन्टाइन डे अर्थात् फेब्रुुअरी १४ लाई लक्षित गर्दै धेरै दिनपहिलादेखि नै बजारमा नयाँ प्रेम प्रस्ताव गर्ने स्थान, घुम्ने बस्ने पार्क, रिसोर्ट, हवाई टिकटमा प्याकेज, खानामा छुटजस्ता अफरहरू ल्याएका हुन्छन् । यसले के गर्यो भने फरक खालका क्षमता भएका व्यक्तिहरूलाई बजारसम्म जोडिदिने र आफ्नो अनुकूलताअनुसारको नयाँ स्वाद र इच्छा चाहना पूरा गरिदिने र आफ्नो अनुकूलतामा सेवा लिएर उपयोग गर्ने सन्दर्भलाई यसले नजिकबाट जोड्ने काम गर्छ ।
भ्यालेन्टाइन डे परिवर्तन
जसरी सामाजिक संरचना परिवर्तन हुन्छन्, त्यसरी नै हामीले समाजमा मनाउने सांस्कृतिक पर्वहरू पनि हाम्रा गतिविधि, चालचलन, क्रियाकलापले गर्दा परिवर्तन हुँदै जान्छन् । पहिला प्रविधिको विकास नभएको अवस्थामा र आजको प्रविधियुक्त समाजमा धेरै परिवर्तन पाउन सकिन्छ । रोमनका राजाले आफ्ना सेनालाई विवाह, प्रेम गर्न नपाउने व्यवस्थाका विरुद्ध मनाउन लागेको यो दिवस आज विश्वका सबै समाजमा मनाइन्छ तर फरकफरक तरिकाले । किनभने व्यक्तिसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले व्यक्तिगत जीवन निर्वाह र जीविका के कसरी चल्छ र चलेको छ भन्ने कुरा महत्त्वपूर्ण रूपमा जोडिन आउँछ ।
नेपालको सन्दर्भमा कुरा गर्दा प्रेमविवाहका इतिहास छन् । पूर्वीय दर्शनशास्त्रमा पनि प्रेम कहानीका विषयमा थुप्रै चर्चा भएको पाइन्छ । त्यस्तै, हिजोका दिनमा सबै एउटै समुदायका पारिवारिक व्यक्तिहरूमा एकै ठाउँमा बस्ने, काम सँगै गर्ने र सीमित उत्पादनले जीविका चलाउनुपर्ने बाध्यता थियो । आज परिवारको स्वरूप बदलियो, काम गर्ने स्थान पनि फरकफरक भयो । एक ठाउँमा कृषि गरेर बस्ने परिवारका सदस्यहरू आज विश्वभरि छरिएर रहेका छन् पेशा र काम अनुसार नयाँ प्रेम सम्बन्ध हुने फरक समाजलाई पनि पेशा एकैखाले भयो भने पनि केही फरक संस्कार वा समाजमा हुर्केका व्यक्ति बीचमा प्रेम सम्बन्ध हुने र भएको देख्दा परिवर्तन भएको महसुस गर्न सकिन्छ ।
प्रेम एक विवाह गर्ने परिवारको संरचना बच्चा उत्पादनको एक आधिकारिक सामाजिक संस्था हो । यो हिजो कसरी परिवार जुटाइन्थ्यो र आज कसरी परिवार जुटाइन्छ वा जुर्दछ भन्ने कुरालाई हेर्यो भने यसको यथार्थ बुझ्न सजिलो हुन्छ । सानो उदाहरण; हिजो आफ्नो गाउँ नाता कुटुम्ब र गोत्र नलाग्नेसँग उमेर समूह र जात मिलाएर परिवारको अभिभावकले निर्णय गर्ने चलन थियो । केटाकेटीलाई सोधिँदैनथ्यो । आज कामको सिलसिलामा पढाइको सिलसिलामा आफ्नो गाउँभन्दा टाढा शहरमा बसाइँ जाने चलन दिनानुदिन बढ्दै छ । यसले फरक समाज जाति फरक संस्कार भएको सँग पनि प्रेम गर्ने विवाह गर्नेका लागि आफैँ निर्णय गर्ने चलन पर्याप्त छ । यो अझै बढेर जाने संकेत देख्न सकिन्छ । किनभने विश्वव्यापीकरणले मानिसका पुर्ख्यौली पेसा, भाषा, संस्कृति वेशभूषा, मूल्य मान्यतालाई नयाँ बजारअनुसारको नयाँ प्लेटफर्म निर्माण गरेको छ । व्यक्तिले प्रयोग गर्ने सामान कार्यक्षमता एक देशबाट अर्को देशमा काम पढाइमा जाँदा नयाँ ठाउँमा घुलमिल हुनपर्ने बाध्यता जस्ता कारणले पनि परिवर्तन ल्याउन सघाउ पुर्यायो ।
बसाइँसराइ
आजको नेपाली समाजमा प्रेम विवाहले धेरैजसो बसाइँसराइ गराउने गरेको छ । आन्तरिक तथा बाह्य रूपमा बसाइँसराइ हुँदा पछिल्लो दशकयता प्रेम विवाहका कारण धेरैले गाउँबाट शहर र शहरबाट अन्य विदेशी यात्रासमेत तय गरेका हुन्छन् ।
सामान्य रूपमा तपाईं हामीले हेर्यो भने पनि छिमेकी वा आफन्त टोलवासीहरूकोमा दैनिकजसो विदेश जाने दिन फिक्स वा निधो भयो भन्दै भोज, मिठाई, लड्डु खान बोलाउँछन् । के कसरी भयो भन्दा डिपेन्डेन्ट भिसा पढ्दाको साथी चिनजान भएको एउटै फिल्डमा काम गरेको जस्ता नाममा प्रेम विवाह गरी विदेश गएको कैयौँ ठाउँमा सजिलै देख्न वा भेट्न सकिन्छ ।
रोज डे
फेब्रुअरी ७ देखि १४ सम्म चल्ने भ्यालेन्टइन डे सप्ताह अर्थात् प्रणय दिवस भ्यालेन्टाइन डे अर्थात् पहिलो दिन अर्थात् रोज डे । यो पर्व मनाउनेहरूका लागि यो विशेष दिन हो । गुलाब आफू काँडैकाँडाको बीचमा फुलेर अरुलाई सुगन्ध र सौन्दर्य बनाउँछ । यसले सकारात्मक सन्देश प्रवाह गर्ने गर्दछ भन्दै नयाँ प्रेम प्रस्तावमा दिने र लिने चलन छ । यसले माया भावना सद्भाव व्यक्त गर्दछ भन्दै शुभ कार्यका लागि प्रयोग गर्ने केही शास्त्रमा उल्लेख पाउन सकिन्छ ।
यसलाई विश्वव्यापीकरणसँग जोडेर हेर्दा प्रायः विश्वका सबै देशमा डिजिटल सेवा सुरु भएको करिब १५/२० वर्षयता सबै एकआसमा चिनजान गर्ने बोल्ने सुविधा क्रमिक रूपमा सुरु हुँदै गर्दा नयाँ प्रेमी प्रेमिका भेट्ने र अन्य सामान खरिद गर्नेसँगै अन्य केही उपहारसमेत दिने चलन बढेको छ । बजारमा पनि अफर भनेर राखिदिएको देख्दा किन्न मन लोभ्याउने बजार छ । हिजो आफ्ना प्रेम प्रेमिकाले केही दिन मन लागे पनि दिन नसक्ने हातमा केही थिएन तर आज बजारमा गयो भने जस्तो सामान खोज्यो त्यस्तै सामान फेला पार्न सकिन्छ ।
समाजशास्त्रीय दृष्टिकोणले हेर्दा
समाजशास्त्रीय दृष्टिकोणमा दुई तीनवटा कुरा हेर्न सकिन्छ । प्रेम सम्बन्ध विवाह र परिवार यी तीन कुरा सबै एकैपटक हुँदैनन् । यसका पनि धेरै प्रयासहरू छन् । यसलाई उमेर जातले धर्मले फरक पार्दछ । कतिपय ठाउँमा प्रेमलाई विवाहमा स्वीकार गर्न नसक्ने समाज वा परिवार पनि छन् ।
भ्यालेन्टाइन डे अर्थात् प्रेम समाजमा कहाँनेर छ भन्ने कुराले सार्थक राख्दछ । समाजशास्त्रले विगत र वर्तमानलाई तुलना गर्दै अन्तरसम्बन्ध कहाँनिर छ भनेर हेर्ने हो । हामीले हेर्यो भने पहिलेको समाजमा पनि प्रेम विवाह हुन्थ्यो । ती सामाजिक सांस्कृतिक मूल्य मान्यताअनुसार जोडिएका थिए । गुरुङ मगर समुदायमा रोधीघर र यसको चलन अहिले पनि हामी सुन्न र जान्न सक्दछौँ । रोधी घरमा नै प्रेम प्रस्ताव राखी विवाह समेत गरेका दरिला उदाहरणहरू नेपाली रोधी घर छ ।
प्रेम राजनीति धार्मिक आर्थिक सांस्कृतिक रूपमा पनि फरकपना पाउन सकिन्छ । प्रेम विवाह गर्ने चलन ठाउँ भूगोल त्यहाँको स्थानीय उत्पादन, बजारको सम्भावना र पहुँच, शिक्षा रोजगारीअनुसारसमेत प्रेमको बुझाइ र प्रस्ताव फरक-फरक हुन्छन् । विवाहसँग जोडेर हेर्यो भने कुनै ठाउँमा स्वीकार्य छ कुनै समाजमा स्वीकार्य हुँदैन यसरी सबै एकै खाले समाज नहुँदा अलि अप्ठ्यारो पनि हो तर त्यहाँको सामाजिक संरचना मूल्य मान्यताले कतिको जरा गाडेको छ भन्ने मात्र हो ।
विविधतालाई एकतामा तान्दै छ
अन्त्यमा, भ्यालेन्टाइन डे युवायुवतीहरूका लागि विशेष दिन बनेको छ । नेपालको सन्दर्भमा करिब एक दशकपहिला र एक दशकपछाडि सामान्यतया विवाह र प्रेम विवाहलाई बुझ्ने तरिकामा परिवर्तन आएको छ । विशेष गरी ब्राह्मण जाति पहाडी समाजमा मान्यता दिइँदैनथ्यो भने आज परिवार परिवारसँगै बसेर प्रेम विवाह स्वीकार्नेसम्मको परिवर्तन देख्न खासै टाढा जानुपर्छजस्तो लाग्दैन ।
मूलतः पछिल्लो विश्वमा भएको ज्ञानको विकास र खोजी र नयाँ सोच विचार आउँदा विश्वव्यापीकरणले फरक देश, भाषा, जातिमासमेत प्रेम विवाह गर्ने चलन बढेर जाने अनुमान लगाउन सकिन्छ । भने अर्को महत्त्वपूर्ण काम विविधतालाई एकीकृत गर्न एक माध्यम पनि बन्न पुगेको छ ।